निर्माण सकिएकाे केही दिनमै जिर्ण बनेकाे ताथलीको पर्खाल
भक्तपुर, १३ मंसिर/चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएकाे पर्खाल जिर्ण बनेकाे छ । चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेकाे हाे । नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने याे पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो । पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजाेर भएकाे वडाध्यक्ष गणेश त्यातले बताए ।
उनका अनुसार सो योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ । ‘सडकको पर्खाल भत्किन लागेकाे भन्दै स्थानीयको गुनासो आएको थियो । सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएकाे देखियो,’ उनले भने, ‘वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेका थियौँ ।’
उनका अनुसार प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला (ढलान) हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेकाे पाइन्छ ।नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनका अनुसार एक तह ढुंगा, एक तह ढलान राखी बनाउनु पर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ । त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ । सो पर्खाल निर्माणाकाे जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए ।
लमजुङ : ६ पालिकामा माओवादी केन्द्रकाे नयाँ नेतृत्व
लमजुङ,१३ मंसिर/लमजुङका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र मर्स्याङदी गाउँपालिकामा नयाँ नेतृत्व चयन भएकाे छ भने बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ ।मध्येनेपाल नगर अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरे चयन भएका छन् ।
सुन्दरबजार नगर अध्यक्षतामा मुरारिकुमार भुजेल, उपाध्यक्षमा सृजना अधिकारी, महेन्द्रबहादुर अधिकारी, सूर्यबहादुर बुढापृति, सचिवमा ध्रुब विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा अप्सरा विक छानिएका छन् ।राईनास नगर समितिको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा सूर्यबहादुर नेपाली, उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, कोषाध्यक्षमा खिलाराज शर्मा र सहसचिवमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ चयन भएका छन् । जसकाे उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियार रहेका छन् ।दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक चयन भएका छन् ।
मर्स्याङदी गाउँपालिका समिति २१ सदस्य चयन गरेकाे छ । पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनारले बताए ।


