इन्द्र लोहनीकी आमाको नजरमा चर्चित टेलिभिजन प्रस्तोता

झापा, १६ मंसिर/करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । उनलाई जान्नेहरू टेलिभिजन टक शोमा यतिको आँटिलो र खरो बहस गर्ने आजपर्यन्त नभेटिएको बताउने गर्छन् । कडा प्रश्न सोधेर नेताहरूलाई नै आच्छुआच्छु पार्ने लोहनी यो संसारमा छैनन् ।

उनै लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयकाले आफूहरूलाई चिन्ने गरेको बताउँछिन् । ‘घरभरी नेताहरूको भिड हुन्थे, जागिर लगाइदिनुप¥यो, सरुवा बढुवा गर्नुपर्‍यो भनेर कोशेलीसहित लाम लाग्थे’, हरिमायाले सम्झिइन्, ‘छोरा (इन्द्र लोहनी) कहिल्यै प्रभोलनमा परेन्, कसैले औँला ठड्याउने काम गरेन ।’

आमा हरिमाया आज छोरो यो संसारमा नभए पनि उनले लिएको अन्तर्वार्ता झल्झली सम्झिन्छिन् । ठूलो छोराको निधनपछि आफूलाई कसैले नचिनेको गुनासो गर्छिन् । ‘अहिले नचिनेजस्तो गर्छन्, नजाने जस्तो गर्छन्, ऊ जतिको आँटिलो र ट्यालेन्ट कोही देख्या छैन्’, उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा भनेर मात्र राम्रो भनेको हैन कि मलाई आफ्नै छोरा भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरूको पनि हो ।’

त्यसताका पुष्पकलम दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तर्वार्ताहरूले निकै ख्याती कमाएको थियो । ‘कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे । न उ पक्ष, न उ विपक्ष, निष्पक्ष थियो, त्यही भएर जनताको पत्रकार बन्यो’, भावुक हुँदै हरिमायाले सुनाइन् ।
कडा प्रश्न सोध्दा छोरालाई कसैले केही गर्लान् जस्तो लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई डर लाग्दैनथ्यो । तर, मैले उस (इन्द्र)लाई डर लाग्दैन भनेर सोध्थेँ, उसले तपार्इंको आशिर्वाद भइन्जेल केही हुँदैन भन्थ्यो । ’

ऋषि धमला बढी हल्ला गर्ने, विजय कुमार रसिलो लाग्दैन

पछिल्लो समय टिभी टक शोमा ऋषि धमाला, विजय कुमार, भुषण दाहाल, टीकाराम यात्री, राजेन्द्र बानियाँ, रवि लामिछानेसहितका प्रस्तोता देखिएका र देखिँदै आएका छन् । तर, ऋषि धमाला ‘दम’ नभएको प्रस्तोता रहेको हरिमायाको बुझाइ छ । ‘प्रश्न त जसले पनि सोध्न सक्छ नि’, उनी भन्छिन्, ‘त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? जबाफ दिन सक्नुपर्छ ।’

भुषण दाहाल, रवि लामिछानेको प्रस्तुति ठिकै र विजय कुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताइन् । ‘यो मेरा कुरा हुन्, तर उनीहरूलाई नराम्रो भन्न खोजेको होइन नि’, उनले भनिन् ।

जडीबुटीबाट उपचार गर्ने अन्तिम इच्छा

औषधिको नाममा विदेशमा पैसा गएको भन्दै जडीबुटीबाट उपचार गरेर बिरामीको सेवा गर्ने इन्द्र लोहनीको अन्तिम इच्छा रहेको आमा हरिमायाले स्मरण गरिन् । ‘औषधिको नाममा धेरै पैसा विदेश गयो, त्यो रोक्नुपर्छ आमा भन्थ्यो’, उनले सम्झिँदै भनिन्, ‘घरमा आएर छोरा खेतमा जाने, जडीबुटीको बिरुवा लगाउने गर्थ्यो ।’

देशले चिनेको छोरोलाई आफ्नै गाउँवासीले बिर्सिएको उनले गुनासो गरिन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ’, उनले भनिन् ।

हरिमायाले छोरा इन्द्रलाई गुमाए पनि देशका सबै छोराहरू आफ्नो छोरा भएको बताउँछिन् । ‘सबै छोराहरू मिलेर समृद्ध देश बनाउन लाग्नुपर्ने उनको सुझाव छ । उमेरले ७१ पार गरिसकेकी हरिमाया अहिले घरमा बसेर सुइटर बुन्ने गर्छिन् । घर वरपर जडीबुटीका बिरुवा लगाएकी छिन् ।

झापा गौरादह घर भएकी हरिमाया छोरा इन्द्रको परिचयबाट भन्दा आफ्नै परिचयले चिनिन मनपर्ने बताइन् । सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहन्छु’, उनले भनिन् । साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् ।

(पत्रकार तेजन खड्काले हरिमाया लोहनीसँग गरेको कुराकानीमा आधारित)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।