तंग्रिन नपाएका होमस्टे

विनोद ढुंगाना/तनहुँ, २१ मंसिर ।दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो लहरको प्रभाव कम हुँदै जनजीवन सामान्य लयमा फर्किएपछि पछिल्लो साता होमस्टेमा बल्ल पाहुना राख्न थालिएको छ । १४ मंसिरदेखि होमस्टे पाहुनाका लागि खुला गरिएको हो ।

होमस्टे खुलेपछि अलिअलि पाहुना आउन थालेकाे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । तर, फेरी अर्काे भेरियन्टकाे हल्लाले त्रसित बनाएकाे उनी बताउँछन् । उनले भने, ‘त्यसले फेरी थला पार्ने हो कि भन्ने लागिरहेकाे छ ?’ आर्थिक अवस्था उकास्न ग्रामीण पर्यटन रोजेका सर्वसाधारणलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले सुनाए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरी बन्द गर्नुपर्ने अवस्था आउने हाे कि भनेर चिन्ता थपिएको उनले बताए ।

गुरुङ समुदायको बाहुल्यता रहेकाे टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा आएको हो । २०७५ सालपछि भने यहाँ आन्तरिक र बाह्य पर्यटक नियमित जस्ताे पुग्न थालेका थिए । हाेमस्टेसँगै बसाइसराई राेकिएर गाउँ पाहुनाले गुज्जार हुँदै थियो । घरभरि पाहुना भरिभराउँ हुँदा गाउँले उत्साहित भएका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू पनि गाउँ फर्किएर होमस्टे सञ्चालन गर्न थालेका थिए । तर, गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन बढी मार परेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए । बामे सर्दै गरेको होमस्टेको पुर्वाधार विकासले पाहुनाविहिन हुँदा गति लिन नसकेको उनको भनाइ छ ।

टुनेपानीका हाेमस्टे व्यवसायीकाे अवस्था भन्दा फरक छैन् व्यास नगरपालिका–१३ मा रहेकाे आपस्वाँरा दलित सामुदायिक होमस्टेको । होमस्टेमा बिस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइ दियो । कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेपछि पाहुनाविहिन भएपछि होमस्टे सञ्चालकहरू खेती किसानीमा लागेका छन् ।

विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकैआशलाग्दो थियो । २०७६ सालको चैतबाट देशव्यापी निषेधाज्ञा सुरू भएपछि पाहुनाविहिन भएको होमस्टे अझै तङग्रिन सकेको छैन् । अहिले कोरोनाको डर घटेपछि होमस्टे खुला गरिएको त छ तर छिटफुट आन्तरिक पाहुनाबाहेक विदेशी नआएको होमस्टे सञ्चालक रेशम विकले बताए । ‘हामीकहाँ आउने धेरैजसो पाहुना विदेशी हुन्थे । कोरोना महामारी सुरू भएपछि नेपाल घुम्न आउने विदेशी बन्द जस्तै भए । त्यसैको प्रभाव हामीले चलाएको होमस्टेमा देखिन्छ । कहिलेकाही आन्तरिक पाहुना आउँछन्, उत्साहजनक आगमन छैन्’, उनले भने । होमस्टेमा पाहुना नभएर फुर्सदिला भएका सञ्चालकहरू महामारीको दुई बर्ष पूर्वाधार सुधार र अर्गानिक उत्पादनमा लागेको विकले उल्लेख गरे ।

बन्दीपुरमा चहलपहल

बन्दीपुर बजार आसपासमा सञ्चालित होमस्टे दसैँ पछाडि पाहुनाले भरिएका छन् । दसैँको घटस्थापनापछि सुनसान बन्दीपुर बजारमा पर्यटकको निकै चहलपहल सुरू भएकाे थियो । बन्दीपुरमा पर्यटक बढेसँगै बजारसँगै रहेको बन्दीपुर सामुदायिक होमस्टेमा दैनिक ५० देखि एक सय ५० जनासम्म पाहुना राख्ने गरेको होमस्टे सञ्चालक सीता विकले बताइन् । ‘पाहुना बढेर कोरोना अगाडिकै अवस्थामा फर्किएला झैँ आशा पलाएको छ । दसैँदेखि पाहुनाको स्वागत सत्कारमा सञ्चालक दिदीबहिनीको व्यस्तता बढाएको छ,’ विकले भनिन्, ‘फेरी अर्को भेरियन्टकाे हल्ला छ । होमस्टे सुनसान हुने चिन्ताले सताएकोे छ ।’ यहाँकाे होमस्टे महिलाले मात्रै चलाएका हुन् । पहिलो र दोस्रो लहरको कोरोनाले होमस्टे बन्द भएपछि सञ्चालक महिलाको आयआर्जनको स्रोत बन्द भएको विकले बताइन् । ‘घरव्यवहार चलाउन मुस्किल भयो । पाहुनाविहिन हुँदा धेरै फुर्सदिला भयौँ,’ उनले सुनाइन् ।

कोरोना संक्रमण फैलनु अगाडिसम्म तनहुँमा गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको थियो । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पुर्वाधार विकास र प्रबद्र्धन गरेका थिए । अनुदान लिएर सुरू गरेका होमस्टे कोरोनापछि ठप्प छन् । कतिपय होमस्टेमा पाहुना शून्य छन् । चल्तीका होमस्टे टुटेपानी, आपस्वाँरा, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेको छैनन् ।

चार बर्ष अगाडि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भिमाद नगरपालिका-९ भानुमतिको पाथर्दी सामुदायिक होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन सकेको छैन् । व्यवासायीक बाेयर जातकाे बाख्रा पालन अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल आउने पाहुना घटेर एकाधमा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् । ‘कोरोना महामारीको समय पूर्वाधार विकास र सुधारमा सदुपयोग गरेका छौँ,’ उनले भने । पूर्वाधारमा सुधार भएकाले नयाँ भेरियन्टको प्रभाव हेरेर होमस्टे प्रर्वद्धनको कार्यक्रम थाल्ने योजना रहेको उनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।