पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

बागलुङ । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो ।जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार पहिले–पहिले त्यसलाई शङ्खे ओढार भनिन्थ्यो । रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको चर्चा बाहिरिएको हो । समिति र गाउँले मिलेर उक्त ओढारलाई शङ्ख बज्ने पहराका रूपमा अन्यत्र चिनाएका हुन् । पहरामा रहेका प्वालमा फुक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापाले सुनाउनुभयो ।

“सानैदेखि शङ्खेओढार भनेर सुन्ने गरिन्थ्यो, पाकापुरानाले त्यहाँ शङ्ख बज्छ भन्थे”, उहाँले भन्नुभयो, “त्यसै शङ्खे ओढार नामाकरण त भएन होला भन्ने लागेर त्यसको खोजीनीतिमा लाग्यौँ, हामीले प्रयास गर्दा शङ्ख बज्यो पनि ।” शङ्खे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलोपटक पहरामा फुकेर शङ्खको ध्वनि निकाल्नुभएको थियो । त्यसपछि गाउँका अरु केही युवाले पनि शङ्ख बजाउन सिके । जो–कोहीले भने त्यहाँ शङ्ख फुक्न सक्दैनन् ।

“गाह्रो हुन्छ, धेरै फुक्दा त टाउकै दुख्छ”, ३० वर्षीय थापाले भन्नुभयो, “वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ ।” सुक्खायाममा भने प्वालमा पानी हाल्दै बजाउने गरिएको उहाँको भनाइ छ । थापासँगै गाउँका दुई÷चार जना युवाले मात्रै पहराबाट शङ्ख ध्वनि निकाल्न सक्छन् । उमेर पुगेका व्यक्तिलाई भने श्वास पु¥याउनै कठिन हुन्छ । शङ्ख बज्ने गरेको थाहा पाएपछि गाउँका धेरैले कोसिस गरे पनि सफल हुनसकेका थिएनन् ।

बाहिरबाट जाने आगन्तुकले पनि प्वालमा मुख जोडेर बजाउने प्रयास गर्छन् । कतिले त जेनतेत मधुरो भए पनि आवाज निकाल्छन् । शङ्खे पहराको नाम चल्न थालेपछि अहिले त्यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन् । शङ्ख बज्ने पहरा भनेपछि जिज्ञासा लिएर मानिसहरू आउन थालेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले पहरामा रहेका प्वालमा फुक्दा शङ्ख ध्वनि निस्कनु आफैँमा अनौठो भएको प्रतिक्रिया दिनुभयो । “तिब्बतीयन र भारतीय प्लेटको टकराबबाट हिमालय क्षेत्रको उत्पत्ति हुँदा समुद्री जीव शङ्खे किराको अवशेष यहाँ रहेको हुनुपर्छ”, अध्यक्ष थापाले भन्नुभयो, “यस पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान पनि प्रशस्त भेटिन्छन् ।”

शङ्खे पहराको मुनिपट्टि देवीदेउताका आकृति पनि रहेको उहाँको भनाइ छ । स्थानीयवासीले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन् । त्यहाँ पुग्दा पूजाअर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ । रिठेडाँडाबाट शङ्खे पहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजनामा समिति छ ।

अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । रिठेडाँडाको पर्यटन विकासका लागि चालु आवमा पर्यटन मन्त्रालयको रु नौ लाख र एक लाख नगरपालिकाको बजेट छ । सो बजेटबाट मचान, शङ्खे पहरा जाने पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान निर्माणलगायत काम गरिने समितिले जनाएको छ ।

गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु चार लाख ३६ हजारको योजना सञ्चालन गरेको थियो । सो बजेटबाट चौतारो निर्माण, उद्यान विस्तारलगायतका काम भएका थिए । वडाध्यक्ष गोपालप्रसाद शर्माले रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

“नगरका पर्यटकीय विकास योजनामा यो पनि सूचीकृत छ, बजेट र योजनामा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको मनोभावनाअनुसार नै रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन हामी लागिपरेका छौँ ।” सोही ठाउँमा व्यवस्थित खेलमैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु नौ लाख बजेट छुट्टिएको वडाध्यक्ष शर्माले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आवमा झण्डै रु २९ लाख बजेट त्यहाँको पूर्वाधार विकासमा खर्च हुन लागेको उहाँको भनाइ छ ।

दशकौँदेखि ओझेलमा परेको रिठडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन् । पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने उनीहरुको ध्येय छ । सोही उद्देश्यलाई टेवा दिन घरबास (होमस्टे) पनि सञ्चालनको तयारीमा छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । त्यहाँबाट हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । रिठेडाँडा एक हजार ३०० मिटरको उचाइमा पर्छ । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।