शान्तिको जीवनमा फेरि अशान्ति ल्याउँदै क्रसर उद्योग

विशाल बस्नेत/महोत्तरी, ६ पुस ।धनुषाकी शान्ति क्यापछाकी बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन । क्रसर व्यवसायी र ट्याक्टरले खुलम्खुला उठाउँदै गरेको नदीजन्य बस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाइ सम्झन्छिन् र भावुक बन्छिन् । नदीको किनारमा गएर बालुवा चाल्दै दैनिक जीविकोपार्जन गर्न शान्तिको लागि रातुको किनार सबथोक हो ।

यही किनारको वरिपरि बाढीले थुप्रो बनाएका बालुवाका ढिस्का फुटाएर उनले ३० वर्ष गुजारिन् । बालुवा चालेर नै छोराछोरीको भविष्य बनाइन् । चार छोराछोरीलाई भनेजस्तो विषय पढाउन नसके पनि सरकारी विद्यालयमा पढाएरै शिक्षित बनाइन् ।केही वर्षअगाडि शान्तिलाई बालुवाको अर्डर लिएर भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले किनारका छेउछाउमा बाक्लै खुलेका क्रसर उद्योगहरूले बालुवा चाल्ने पेसालाई विस्थापन गरिदिने अवस्था सिर्जना भएको छ ।

‘अब गरिखान साह्रै गाह्रो छ । सबै किनबेच अहिले त क्रसर उद्योगवाट नै हुन्छ,’ उनले भनिन् । नदी किनारमा बालुवा चाल्दाचाल्दै शान्तिका श्रीमानले ज्यान गुमाए । बालुवा चालेर गुजारा गर्नु उनको परिवारको लागि पुर्ख्यौली पेसा जस्तै बन्यो । किनारमा मापदण्डविपरीत खुलेका कयौँ क्रसर उद्योग छन् । राजमार्ग र नदीको किनारबाट जति दूरीमा क्रसर खोल्नुपर्ने प्रावधान छ, त्यसलाई खुलमखुला धज्जी उडाउँदै दैनिक सयौ ट्याक्टर नदीका किनारबाट बालुवा तथा नदीजन्य बस्तुको दोहन भइरहेको छ ।

क्रसर कै चपेटामा परेर शान्तिलाई हिजोआज बालुवा चालेर जीविकोपार्जन गर्न निकै कठिन छ । ‘पहिला त क्रसरहरू थिएनन् । तर, अहिले बाक्लै खुलेका क्रसरहरूले रोजीरोटी नै बन्द गराउलान् जस्तो छ,’ उनी भन्छिन् ।रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तीको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ । छ्यापछ्याप्ती नदीजन्य बस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् । २, ४ जना मजदुर ल्याएर बेल्चाले उठाएर क्षणभरमा नै एक टिप बनाएर ट्याक्टरहरू ओहोरदोहोर गरेको शान्तिहरू साक्षी बन्छन् । तर, निरीह हुनुको विकल्प पनि त छैन । के पो गर्न सकिन्छ र ? शान्ति प्रतिप्रश्न गर्छिन् ।

शान्तिले अहिले पनि बालुवा चाल्ने आफ्नो दैनिकीलाई निरन्तरता दिएकै छन् । दुःख गरेर चालेको बालुवामा कोही आएर भाउमा नै बार्गेनिङ गर्दा भने शान्तिलाई दुःख लागेर आउँछ ।कहिलेकाहीँ शान्ति पहिला र अहिलेलाई तुलना गर्दै भावुक हुन्छिन् । ‘पहिले महंगी थिएन, व्यापार पनि थियो । तर, अहिले त्यो समय रहेन,’ उनी भन्छिन्, ‘तै पनि दिनभरि नदी किनारमा बसेर बालुवा चाल्ने कर्मलाई निरन्तरता दिइरहेको छु । दुई, चार दिनमा कोही–कोही आउँछन र लिएर जान्छन् ।’

शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाइ बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको अँखा लाग्दैन । ‘हामी किनारमा बसेर चार दिन लगाएर एक ट्याक्टर बालुवा चाल्छौँ, तै पनि स्थानीय प्रशासन अँखा लगाउँछन बडो अचम्म लाग्छ,’ उनले भनिन् ।हुन त शान्तिलाई नदीको किनारमा बाक्लै खुलेका क्रसरहरूले नदीजन्य बस्तुको उत्तखनन गर्दा नियमविपरीत हुन्छ कि नियमसंगत हुन्छ, थाहा छैन उनलाई । तर, यतिमात्र थाहा छ कि क्रसरहरूले नै शान्तिको व्यवसाय ठप्प बनाए, रोजीरोटी र जीविकोपार्जनमा समस्या बने ।

योसँगै वर्षायाममा नदीको भेलले ३ महिना काम नै ठप्प हुन्छ । ‘वर्षायमा लागेपछि अरुको बनिबुथो गर्न जान्छु अनि बिहान–बेलुकाको छाक टार्छौँ’, शान्ति भन्छिन् । अहिले रातु नदीको किनारमा ५० को हाराहारीमा क्रसर उद्योग छन् भने बालुवा चालेर जीविकोपार्जन गर्नेहरूको संख्या पनि अधिक छ । विशेषगरि धनुषाको मिथिला, महोत्तरीको बर्दिबासजस्ता ठाउँका कयौँ सर्वसाधारणहरूको जीविकोपार्जन अझै रातु नदीले धानिरहेको छ । तर, जीविकोपार्जनको दायरा साँघुरिँदै गएपछि शान्तिजस्तै कयौँले पेसाको विकल्प रोजिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।