ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

विनोद ढुंगाना /तनहुँ, १५ पुस ।जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर गाह्रो लगाउन नमिल्ने यी ढुंगा अस्तित्वविहीन जस्तै थिए । यति मात्रै हाेइन चुच्चे ढुंगाकै कारण वस्तुभाउ चराउन र घाँस दाउरा गर्न समेत स्थानीयहरू पुग्दैन थिए ।

भिमाद नगरपालिका-९ मोहोरियास्थित दुङ्दुकाे सामुदायिक वनमा पर्ने यही अग्ला र चुच्चे ढुंगा अहिले पर्यटक तान्ने माध्यम बनेका छन् । झाडी फाँडेर तिनै ढुंगा सिंगारिएको छ । अहिले यहाँ उद्यान अर्थात पार्क बनाइएको छ । पार्कको नामाकरण गरिएको छ घाङ्च ल्हुम । घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लो ढुंगा हो । मगर बस्ती मोहोरियाको काखमा साजसज्जाले चिटिक्क बनाईएको ढुंगे बगैँचा घाङ्च ल्हुम भाइरल गन्तव्य बनेकाे छ ।

केही समयअघिसम्म घाङ्च ल्हुमको न अस्तित्व थियो न अपेक्षा नै । मोहोरियावासी जंगलको झाडीमा लुकेको घाङ्च ल्हुम हेर्न पर्यटक आउलान भन्ने कल्पना समेत थिएन । जताततै ढुंगैढुंगा छन्, ढुंगा हेर्नलाई पनि पर्यटक आउलान् र ?

ढुंगालाई साजसज्जा गरेर पार्क बनाएपछि घाङ्च ल्हुममा हजारौँ पर्यटक पुगेका छन् । गत साउनमा निर्माणधीन घाङ्च ल्हुम पक्षी तथा वनस्पती उद्यानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक पुग्न थालेका थिए । पर्यटकको ताती लाग्न थालेपछि १८ साउनदेखि घाङ्च ल्हुम प्रवेशमा टिकटकाे व्यवस्था भयाे । त्यस दिनदेखि हिजाे बुधबारसम्ममा घाङ्च ल्हुममा साढे १४ हजार पर्यटक आइसकेकाे दुङ्दुमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए । घुम्न आएका पर्यटकले काटेको टिकटबाट मात्रै दुई लाख ९० हजार दुई सय ६० रुपैयाँ आम्दानी भइसकेकाे छ ।

कल्पना नै नगरेको संख्यामा पर्यटक आएको थापा बताउँछन् । उनका अनुसार जिल्लाबाहिरबाट समेत पर्यटक आउन थालेका छन् । घुम्न आउनेको ताँतीले गाउँलेलाई दंगै बनाएको छ । उनी भन्छन्, ‘हामी यहीँ हुर्कियौँ, यहीँ गाई बाख्रा चराएर हिँड्यौँ । पहिले झाडी थियो आउन पनि डर लाग्ने ठाउँ । यस्तो बन्ला भनेर कहिल्यैँ कल्पना समेत गरिएन् । चिटिक्कको पार्क बनेर घुम्न आउनेको ताँती लागेपछि हामी त दंगै पर्‍यौँँ ।’ पछिल्लो तीन वर्षको प्रयासमा डर लाग्ने जंगलको ढुंगा आकर्षक पार्कमा परिणत भएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट मातहातको कार्यालय डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७७/०७८ मा पार्क बनाएको हो । २० लाख रुपैयाँ लगानीमा पार्क बनाएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पार्क निर्माणमा स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका थिए ।

पार्कमा चराका लागि गुँड बनाइएको छ । ढुंगाको खोपिल्टोलाई संरक्षण गरेर चराचुरुङ्गीले पानी पिउन मिल्ने स-साना पोखरी निर्माण गरिएको छ । गिद्धको आकृति र चुच्चोबाट पानीको फोहोरा झर्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम परिसरमा ढुंगा चिनेर चिटिक्कको पैदल मार्ग बनाइएको छ । गमलामा रोपिएका फूल फुलेर ढकमक्क हुँदा मनमोहक देखिएको छ ।

छोटो समयमा घाङ्च ल्हुममा हजारौँ पर्यटक आउनुलाई सामाजिक सञ्जालको पावर ठान्छन् वडाध्यक्ष इमानबहादुर थापा । ‘यदि सामाजिक सञ्जालमा प्रचारप्रसार हुदैन्थ्यो भने घाङ्च ल्हुममा यति धेरै पर्यटक आउने थिएनन् होला,’ उनले सुनाए । पछिल्लो समय भने पर्यटक बिस्तारै घट्दो छ । कारण चिहानडाँडाबाट पार्कसम्मको पुग्ने सडकको दुरावस्था । कालोपत्रे गर्नलाई ठेक्का लगाएको चिहानडाँडादेखि मोहोरियासम्मको सडक निर्माण समयमै सम्पन्न नहुदाँ पर्यटकलाई सास्ती भएकाे वडाध्यक्ष थापा बताउँछन् । २.३ किलोमिटर सडक ठेक्का लगाएको दुई बर्षसम्म पनि कालोपत्रे हुन सकेको छैन ।

ढुंगा सिँगारेर आकर्षक पार्क बन्नुको जस मोहोरियावासी गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङलाई दिन्छन् । गुरुङ गण्डकीका पूर्व अर्थमन्त्री पनि हुन् । अर्थमन्त्री हुँदा उनले घाङ्च ल्हुम पक्षी तथा वनस्पति उद्यान निर्माणमा बजेट विनियोजन गरेका थिए । ढुंगा सिँगारेर पार्क बनाउने अवधारणा गुरुङै भएको स्थानीय बाबुराम राना बताउँछन् । मोहोरियाको ढुंगामा पर्यटक तान्ने शक्ति देखेर पार्कको अवधारणा अगाडि सारेको पूर्वमन्त्री गुरुङ बताउँछन् । अब दुङ्दुमा सामुदायिक वन क्षेत्रलाई वनस्पति उद्यानको रुपमा विकसित गर्ने योजना रहेको उनले बताए ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट १५ किलोमिटर पर पर्छ मोहोरियाको घाङ्च ल्हुम । पाँच महिनामा यहाँ १४ हजारभन्दा बढी पर्यटक घुम्न आए पनि गाउँलेले भने प्रत्यक्ष लाभ उठाउन सकिरहेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।