धान दिएर तरकारी साटने एउटा गाउँको कथा

विशाल बस्नेत/महोत्तरी, १० फागुन । बर्दिबास-३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिलामात्र तरकारीको लागि धान साटने गर्थे । महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गर्थ्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ ।

`एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो,´ उनी भन्छन ।सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्राय:जसो किसानहरूको तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झण्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दु:खका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुख्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका वस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साटनबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराई जस्तै हरिमायाका दिनहरू पनि रंगिन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने महंगो दबाबले जीवनयापनमा नै निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

हरिमाया आजकाल आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैंचामा नै हराउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।`आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइँन, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौला भन्दैमा बुढी भएँ । के गर्ने,´ उनले भनिन् । तरकारी खोज्न चहार्दै हिँड्ने यस गाउँका किसानहरूले अहिले आफैँले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउँछन् ।

गाउँको दु:ख देखेपछि सुविधा खोज्न गाउँबाट धेरै जना बसाइसराइ गरेको भट्टराई र हरिमायाले देखेका छन् । `अहिलेको अवस्था भएको भए कोही पनि बसाइ सर्नुपर्ने अवस्था आउँदैन्थ्यो होला,´ हरिमायाले भनिन् ।करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ । पर्याप्त सिँचाइको कारणले तरकारीमात्र लहलह हैन गाउँको रुप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निक्कै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन । ` यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित गर्‍यौँ,´ उनले भने ।रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागु भएको छ ।

गाउँको नजिकै दुधेस्वरी माध्यामिक विद्यालय छ । पढनको लागि कालापानी, चुरे, भिमान जानुपर्ने समस्याबाट यहाँका बालबालिकाले मुक्ति पाएका छन् । चुरेको काखमा रहेको यस गाउँमा सडक सञ्जालको पनि उत्तिकै विकास भएको छ । बर्दिबास बजारसम्म जान रजावास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजहरूलाई बजारसम्म लैजान निकै सहज भएको स्थानीय बताउँछन ।

सुख्खा क्षेत्र अन्तर्गत खानेपानीको वैकल्पिक योजनालाई समेत अगाडि बढाइएको छ । यसले गर्दा झन् स्थानीयहरूलाई जुनसुकै समयमा खानेपानीको समस्या नहुने स्थानीयहरूले विश्वास लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।