आधारभूत विद्यालयभित्र वडा कार्यालय

कुलप्रसाद काफ्ले/चितवन, १३ फागुन । तनहुँको देवघाट गाउँपालिकाको एउटा आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरिएको छ । पाँच वर्षे कार्यकालमा वडा कार्यालय निर्माण गर्न नसकेका जनप्रतिनिधिले शान्तिपूर्ण क्षेत्र मानिने विद्यालयको भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरेका हुन् ।

विद्यालयमा विद्यार्थी पढिरहेका बेला अभिभावकसमेत प्रवेश गर्न पाउँदैनन् । देवघाट गाउँपालिका वडा नं ५ घिनाटारको चक्रवर्ती आधारभूत विद्यालयमा भने विद्यालयको एउटा भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरिएको छ ।

शिशुदेखि ५ कक्षासम्म पढाई हुने आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरेपछि विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पुगेको छ । शान्तिपूर्ण क्षेत्रमा असम्बन्धित व्यक्तिको प्रवेशले विद्यार्थीलाई पढाउनमा शिक्षकहरूले समेत ध्यान केन्द्रित गर्न सकेका छैनन् ।

गाउँपालिकाको प्रवक्तासमेत रहेका वडाध्यक्ष यालबहादुर गुरुङले आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय स्थापना गर्न नसकेको भन्दै स्थानीयले उनको आलोचना गरेका छन् । वडा कार्यालयका लागि बजेटको व्यवस्था भइसके पनि शिलान्याससमेत हुन सकेको छैन ।

यसअघिको वडा कार्यालयमा सरकारले १० शैयाको आधारभूत स्वास्थ्य चौकी बनाउने भएपछि गत २७ वैशाखमा विद्यालयको भवन खाली गराएर वडा कार्यालय स्थापना गरिएको हो । विद्यालयभित्र वडा कार्यालय बनाउने निर्णय गाउँपालिकाको कार्यपालिका बैठकले गरेको हो ।

राजनीतिक पूर्वाग्रह राखी विद्यालयको भवन जबर्जस्ती खाली गराएर वडा कार्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए । भूकम्प पुनःनिर्माण प्राधिकरणले निर्माण गरिदिएको दुई कोठे भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरिएको उनले बताए ।

‘स्कुल मर्ज गरेर अन्यत्र जानुपर्छ । यहाँ वडा कार्यालय बनाउने हो भनेर जबर्जस्ती भवन खाली गराउनुभयो’, उनले भने, ‘हाम्रो स्कुलमा भन्दा अरु स्कुलमा झन् थोरै विद्यार्थी छन् । हामी मर्ज गर्न दिदैनौँ भनेर विरोध गरेका छौँ ।’ वडाध्यक्षको बलजफ्ती र विद्यालयका अध्यक्षको अडानका कारण अहिले विद्यालय र वडा कार्यालय एकै ठाउँमा सञ्चालन भइरहेका छन् ।

उनका अनुसार विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । दरबन्दीका चार, निजी स्रोतका एक र बाल कक्षाका एक गरी जम्मा ६ जना शिक्षक छन् । ‘वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरू विद्यालयको चौरमा बसेर सुर्ती चुरोट खाने गर्नुहुन्छ । हामीले सेवाग्राहीलाई त भन्ने कुरा भएन । वडाध्यक्षलाई नै भन्ने हो । तर उहाँले हाम्रो कुरा नै सुन्नुभएन’, उनले भने ।

वडाध्यक्ष गुरुङले भने स्थानीय ९० प्रतिशत जनताको मागका आधारमा विद्यालयभित्र वडा कार्यालय स्थापना गरिएको दाबी गरे । ‘वडा कार्यालय गाउँ सभाबाहेक अरुले सार्न सक्दैन । वडा कार्यालय त्यहिँ नै रहन्छ’, उनले भने, ‘अब आउने आर्थिक वर्षबाट बीचमा कम्पाउण्ड गरेर विद्यालय र वडा कार्यालय त्यहीँ राखिन्छ ।’

खोलापट्टि रिटेनिङ वाल निकालेर चौर बनाउने र बाल विकास केन्द्रले कक्षा १ देखि ३ सम्मको व्यवस्थापन गर्ने उनले बताए । ‘स्कुल किन मास्ने भन्ने कुरा आएको छ । कक्षा १ देखि ३ सम्म चाहिँ यही राखौँ । वडा कार्यालय पनि राखौँ भन्ने सहमति छ’, उनले भने, ‘त्यो कुरा चाहिँ कार्यपालिकाबाट आउन बाँकी छ ।’

शिक्षा ऐनअनुसार ७० भन्दा कम विद्यार्थी र आधा घन्टाको दूरीमा भएका विद्यालयहरू आवश्यकताका आधारमा पालिकाले मर्ज गर्न सक्ने भन्ने रहेको भन्दै उनले राजनीतिक कुराले त्यसो हुन अवरोध भएको बताए । वडा कार्यालयको फागुनभित्रै शिलान्यास हुने उनले दाबी गरे । देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले भने विद्यालय परिसरभित्र स्थापना गरिएको वडा कार्यालय अस्थायी भएको बताउँछन् । वडा कार्यालयका लागि जग्गा खोज्ने काम भइरहेकाले जग्गा प्राप्तिपछि शिलान्यास गरेर निर्माण थाल्ने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।