देखिनै छोडे डोको, डालो, थुन्से र भकारी

गलेश्वर, २१ फागुन । प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् ।

केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पु¥याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

तर, पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको बेनी नगरपालिका– ३ का भविन्द्र विकले बताउनुभयो । उहाँका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोग, बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।

डेढदशक अघिसम्म बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौं व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

“बाँस र निगालो पाउन छाडेपछि आय–आर्जनको बाटो बन्द भएको छ”, मालिका गाउँपालिका–२ रुमका तुलबहादुर विकले भन्नुभयो, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको बेनी नगरपालिका– २ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

“गाउँघरमा गोरुबाट गर्ने काममा ट्याक्टर प्रयोग गर्न थालिएको छ, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ, अब बाँस, निगालाबाट बुनेका सामग्री त लोप नै भइसकेका छन्”, कार्कीले बताउनुभयो ।

टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागतखर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरुको गुनासो छ । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई रु ३०० देखि रु ५०० सम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु आठ सयदेखि रु तीन हजारसम्ममा बिक्री गर्दै आएका छन् । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो ।

निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।