महोत्तरी कांग्रेस सभापतिमा यादव
महोत्तरी, २२ फागुन । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।
विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कांग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो । यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएका उहाँ दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार हुनुहुन्थ्यो । उहाँ जिल्लाको लोहारपट्टी नगरपालिकाको मधपुराका स्थायी बासिन्दा हुनुहुन्छ ।
गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य
लन्डन, २२ फागुन ।लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो ।बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो । गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ भने अन्य थप प्रतिनिधि भने विषयगतरूपमा छानिने जनाइएको छ । दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ ।
दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह सङ्घर्ष समिति, गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएशन (नेसा) र गोर्खा जस्टिस ग्रुपआबद्ध गोर्खा अभियानकर्मी सहभागी रहेको र दूतावासबाट राजदूतसँगै वार्ता समितिमा सदस्यसमेत रहेका उपनियोग प्रमुख खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता रहेको जनाइएको छ नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यका नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो । राजदूत आचार्यको पहिलो प्राथमिकता गोर्खाको समस्या समाधान गर्न पहल गर्ने रहेको दूतावासले जनाएको छ ।


