रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी छात्रलाई वर्ष चर्चित विद्यार्थीको उपाधि

खोटाङ । कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्याल बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरुप सो विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।

महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाईप्रति मोटिभेट गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेसनल’ विद्यार्थीका रुपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानअध्यापक नबिन चाम्लिङले बताए । गत साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताए ।

आइतबार र सोमबार मनाइएको वार्षिकोत्सवको अवसरमा शिक्षक माधव श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको छ । नियमित विद्यालयमा उपस्थित हुने, विदामा विरलै बस्ने, उत्कृष्ट कार्यसम्पादन, पेशाप्रति गहिरो एवं जवाफदेहीता लगायतका आधारमा शिक्षक श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको हो । यस्तै, २२ वर्षसम्म प्रअको नेतृत्व सम्हालेका निवर्तमान प्रअ डिकबीर राईलाई कुशल प्रशासकको रुपमा सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएको भन्दै व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किशोरकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कमल श्रेष्ठ र स्वर्गीय रामबाबु श्रेष्ठलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए ।

सरस्वती माविको बार्षिकोत्सवमा सोही विद्यालयका पुर्व प्रअ शर्मानन्द खनालले स्थापना गरेको शर्मानन्द तथा तारा अक्षयकोषबाट शैक्षिक सत्र २०७७ मा उच्च ग्रेड प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका १२ जना विद्यार्थीलाई जनही एक हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, भुपु विद्यार्थी खिलाप्रसाद सुवेदीको प्रयोजनमा ५ जना विपन्न परिवारका बालबालिकालाई जनही एक हजारका विपन्न छात्रवृत्ति प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा जेहेन्दार तथा अनुशासित विद्यार्थी, भलिबल, वक्तृत्वकला, हिसावदौड, भाले जुधाई, बेलुन फुटाउने लगायतका खेलका विजयी प्रतियोगीलाई पनि पुरस्कार वितरण गरिएको छ । विद्यालयले त्रियुगा नगरपालिका–११ गाईघाट, उदयपुरकी दाता शान्ता राई र खोटाङ सेवा समान कोरिया लगायतलाई सम्मान–पत्र प्रदान गरेको छ । विद्यालयका रातो सदनलाई उत्कृष्ट सदनद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रमले प्रअ चाम्लिङले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती विवरण एवं भावी कार्ययोजना पारित गरिएको छ ।
विद्यालयलाई भुपु विद्यार्थीको टिभी र साउण्ड सिस्टम

वार्षिकोत्सवको अवसरमा भुतपुर्व विद्यार्थीले सरस्वती माबिलाई टिभी र साउण्ड सिस्टम प्रदान गरेको छ । रबिन राई र दिपक राईको नेतृत्वमा १९ जना भुपु विद्यार्थीले विद्यालयलाई ४९ हजार बराबरको एक थान एलइडि टिभी र एक थान साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्व, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं उपमेयर बिमला राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । २०१७ सालमा स्थापना भएको सरस्वती माबिमा हाल ३९६ विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।