ग्रामीण सडकमा यातायातः गाउँ जाँदा खचाखच,फर्किदा रित्तै

गलेश्वर, २५ फागुन । देशका विभिन्न सहरबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगमा जाने सवारीसाधन खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री लगायतका साधनले खचाखच भएर गाउँ जाने भए पनि गाउँबाट फर्किदा भने रित्तै फर्कने गरेका छन् ।

जिल्लाभित्र सञ्चालित तीन दर्जन भन्दा बढी ग्रामीण सडकमा आवतजावत गर्ने सवारी साधनमा मानिस कम र उपभोग्य तथा निर्माण सामग्रीका साधन बढी ढुवानी हुने गर्दछन् । गाउँ जाँदा सामानले खचाखच हुने ती सवारी साधन गाउँबाट फर्किदा भने रित्तै फर्किने गरेका यातायात व्यवसायी तथा व्यापारीले बताएका छन् ।

जिल्लाको ग्रामीण पछिल्लो पटक व्यावसायिक कृषि र पशुपालनमा उल्लेख्य प्रगति भएको भनिए पनि देखिनेगरी परिणाम आउन नसकेको पाइएको छ । केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाले व्यवसायिकरुपमा तरकारी तथा फलफूल खेती, बाख्रा, कुखुरा र पशुपालन गरेका भए पनि नियमित रुपमा निर्यात गर्नसक्ने अवस्था बनिनसकेकोले गाउँ जाँदा खचाखच भरिएर जाने यातायातका साधन फर्किदा भने रित्तै हुने गरेका उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बताउनुभयो ।

जिल्लाका ग्रामीण भेगमा सडकको पहुँच पुगे पनि थप सुविधाका लागि गाउँ छोडेर सहर पस्ने क्रम बढ्दै गएको स्थानीयवासीले बताएका छन् । “गाउँमा रहेका पुराना घर रित्तै छन्, पछि बनेका घर स्थानीय स्रोतसाधनको प्रयोग नगरी रड र सिमेन्टको प्रयोगबाट पक्की घर निर्माण हुँदै छन्” धौलागिरि गाउँपालिका ६ का इन्दु सुवेदीले भन्नुभयो, “मानिस नबस्ने तर घर भने पक्की बनाउने रहरले गर्दा पनि गाउँमा निर्माण सामग्री लिएर सवारी साधन बढी भित्रिने गरेका र ती साधन फर्किदा रित्तै फर्किने गरेका उहाँको भनाइ छ ।”

गाउँघरमा घर निर्माण हुने क्रम बढेपनि युवा जनशक्ति भने घट्दै गएको छ । वैदेशिक रोजगार, बसाइँसराइ, जागिर र अध्ययनका लागि ठूलो सङ्ख्यामा युवा गाउँ बाहिर नै रहँदा उत्पादनजन्य कार्य रोकिएका स्थानीय बासिन्दाको भनाइ रहेको छ । म्याग्दीको उत्तरी र पश्चिमी क्षेत्र कृषि, पशुपालन, वनपैदावर र जडीबुटीको भण्डार नै मानिन्छ ।

उत्तरी र म्याग्दीका १७ वटा गाउँ उत्पादकत्वको हिसाबले उत्कृष्ट गाउँ मानिए पनि गाउँले अझै पनि बजारबाट ट््याक्टर र जीपमार्फत गाउँमा आउने खाद्यान्न खाएर गुजारा चलाउँदै आएका मालिका गाउँपालिका– २ का श्यामबहादुर विकले बताउनुभयो ।

पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट, ताकम, मुना, मुदी, बिम, गुर्जा र उत्तरी म्याग्दीका नारच्याङ, शिख, घार, भूरुङ तातोपानी, दोबा, हिस्तानलगायतका गाउँ कृषि उपज र वनपैदावरका लागि अत्यन्त सम्भावनायुक्त गाउँ हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर गाउँलेले आयातित खाद्यान्न खानुपरेको नारच्याङका टेकबहादुर पुनले बताउनुभयो ।

सडक पुगेपछि गाउँलेको आर्थिक अवस्थामा कुनै पनि परिवर्तन नदेखिएको स्थानीयवासीले बताएका छन् । विदेशबाट आफन्तले पठाइदिएको रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । सहरबाट गाउँमा ट्रक जाँदा सामान भरिएर जाने, र आउदा रित्तै आउने प्रवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन । यसले हाम्रो अर्थ प्रणालीको नाजुक अवस्थालाई प्रष्ट पार्दछ । अझ राजनीतिक दबाबबाट सडक निर्माण गर्ने प्रवृत्तिले सडकको अवस्था पनि कमजोर हुनुले यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका स्थानीयवासीको गुनासो छ । “सहरबाट गाउँमा लैजाने चिज धेरै हुन्छ, ट्रक, ट्र्याक्टरमा मात्रै होइन बसमा नै पनि सामान हालेर गाउँ लगिन्छ, तर गाउँबाट ल्याउने चिज केही नहुँदा रित्तै फर्किनुपर्छ” यातायात व्यवसायी कमल जिसीले भन्नुभयो “यसरी त गाउँ कहिले पो उँभो लाग्ला र ?”-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।