गाउँघरमा खबर पुर्‍याउन कटुवालकै भर

लमजुङ, २७ फागुन । लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँले कान टाँठो बनाउँदै उनलाई सुन्न थाल्छन् । चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सुचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल । गाउँका बासिन्दालाई सामुहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था रहेको छ ।

गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रितिथितीि अनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, दाउरा काट्ने, दुःख-बिरामीमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन् ।

गाउँभरीको खबर गर्ने आधिकारीक व्यक्ति नै गाउँको कटुवाल भएको उनले बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको जिम्मेवारीमा रहेको वडाध्यक्ष गुरुङले बताए । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र आफुले ४ वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताए । घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्‍याउने गर्दछन् ।

गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाइ छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पुर्‍याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भना‍इ छ ।

कटुवाल कराए बापत् उनले गाउँलेबाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । वर्षेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन् । गाउँपालिका अन्तर्गत थुप्रै गाउँमा अझैपनि कटुवालको चलन रहेकाले सम्भव हुँदासम्म सबैलाई हाते माइकको व्यवस्था गर्ने प्रस्ताव गाउँपालिकाको बैठकमा राख्ने उनले बताए । क्व्होलासोथर मात्रै नभई जिल्लाको सुन्दरबजार, राईनास नगरपालिका, दोर्दी, दूधपोखरी र मर्स्याङदी गाउँपालिका अन्तर्गतका ७५ वडा मध्येका अधिकाँश गाउँमा अहिले पनि सामुदायिक सुचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।