पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत

फुङ्लिङ, २० चैत । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ ।

लालीगुराँसले यतिबेला पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बनाएको छ । फागुनको अन्त्यतिर कोपिला लाग्न सुरु हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीले बताएका छन् । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ । पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुलेपछि तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो ।

नवरात्रको समयमा पाथीभरा क्षेत्रमा पूजा पाठ गर्ने समय र यसै समय प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । गत शनिबार मात्र छ हजार ८७७ तीर्थयात्री दर्शन पाथीभरा क्षेत्रमा पुगेको थियो । आइतबार तीन हजार ८०० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् ।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।