चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

तारानाथ आचार्य/बलेवा, २९ चैत (रासस)ः चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् ।

परापूर्वकाल अहिलेको जस्तो सुविधा सम्पन्न पकै थिएन होला । गाउँघरमा अत्यावश्यक भाँडावर्तन, ठेकी, मदानी, डालो, नाग्लो, दाम्लो आदिको जोहो गर्ने पर्वका रुपमा चैते दसैँ मेलालाई लिइन्थ्यो । जसको घरमा जे तयार भएको छ त्यही बोकेर बागलुङ बजारमा आउने र मेलामा बिक्री भएपछि आफूलाई चाहिने अर्को बस्तुको खरिद गर्ने प्रचलन रहेको इतिहासका जानकार बताउँछन् ।
मेला भर्नकै लागि दुईतीन दिनको यात्रा गरेको अनुभव सुनाउनुहुन्छ बूढापाकाहरु । घरायसी सामग्रीको पनि अहिले जस्तो व्यावसायिक उत्पादन थिएन । आफ्नै प्रयोजनाका लागि तयार पारिएका सामग्री बचेपछि मेलामा साटफेर हुन्थ्यो । बागलुङ भारतीय सेना र बेलायती सेनामा भर्ती हुन पुग्ने युवाहरुको उर्वर भूमि पनि हो । चैते दसैँ र भारत तथा बेलायतमा रोजगारीका लागि पुग्नेसँग पनि मेलाको साइनो छ ।

वर्षभरि रोजगारीका लागि प्रदेश बसेकाहरु समेत चैते दसैँ मेला भर्नकै लागि छुट्टीमा आउँथे । मेलामा रमाउँथे । घरमा चाहिने भाँडावर्तन, लत्ताकपडा, नुन, तेल लगायतका समग्री किन्थे र वर्षभरिलाई पुग्ने भएपछि फर्किन्थे । केही वर्षपहिले चैते दसैँ मेलामा रहेको जस्तो रौनक अहिले छैन । विलाशीताका वस्तु तथा सेवाले अहिले चैते दसैँको मर्म मरेको पाका पुरानाहरुको अनुभव छ । यसैकारण स्थानीय उत्पादनको विनिमय घटाएको बताइन्छ ।

चैते दसैँ सुरुभएपछि बागलुङ कालिका मन्दिर परिसर कुरेर बस्नुभएका बागलुङ नगरपालिका–१२, अमलाचौरका प्रेम चुँदाराले सोमबार साँझ अँध्यारो अनुहार पार्दै सानाठूला सबै ठेकाहरु बोरामा हाल्नुभयोे । लामो समय कोरोना महामारीको असर झेल्नुभएका उहाँको व्यवसाय यसपालि पनि मारमै रह्यो । यो उहाँको पुख्र्यौली पेसा हो । हिजो बाउबाजेले घरका लागि बनाएर बचेका काठका भाँडा मेलामा बेच्थे भन्ने सुनेर लामो समयदेखि चैते दसैँमा ठेकाको व्यापार थाल्नुभएका प्रेमले अहिले आधुनिकताले भित्र्याएका वस्तुहरुको मार व्यहोर्नु प¥यो ।

झन्डै एक साता कालिका मन्दिर परिसरमा पर्ने बागलुङ–पोखरा सडकको छेउमा ठेका र मदानीको पसल राख्नुभएका प्रेम न धुलो र धुँवाबाट बच्नुभयो नत उहाँको व्यापार नै भयो । कालिका मन्दिर परिसरमा चैतको २६ यता दिनभर नाचगान र रमाइलो चलिरहेको थियो । मेला सकिने दिनसम्म पनि प्रेमको मनमा भने उमङ्ग आएन । कालिका मन्दिर परिसरमा त्रिपाल टाँगेर फरक–फरक स्थानीय उत्पादनदेखि नयाँनयाँ परिकार बिक्री वितरण भइरहेका थिए । भारतबाट आएका प्लास्टिकका भाँडाकुँडाको व्यापार थामिनसक्नु हुँदा ठेका र मदानी राख्नुभएका प्रेमले भने दिनभरको ज्यालासमेत उठाउन पाउनुभएन ।

परिवारसहित मेलामा व्यापारका लागि आउनुभएका चुँदाराले ठेका, मदानी, रक्सी खाने चुवा बिक्रीका लागि ल्याउनुभएको थियो । “पहिलेका मेलामा राम्रै व्यापार हुन्थ्यो, हेरेक वर्ष चैते दसैँमा ठेका बेचियो तर यो वर्ष व्यापार भएन,” उहाँले भन्नुभयो, “सानाठूला कुनै ठेका र मदानीमा यहाँ आउनेको आँखा परेन ।”

उहाँले सानाठूला एक सय रुपैयाँदेखि ५÷६ हजार रुपैयाँसम्म पर्ने ठेका मेलामा ल्याउनुभएको थियो । तर, बिक्री नहुँदा सबै ठेका फर्काउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । गुल्मी पुगेर गिठे दारको काठ जोहो गरेपछि मात्रै घरमै रहेको घरेलु मेशिनले ठेका बनाउनुहुन्छ । एक्लैले ठेका बनाउन नमिल्ने भएकाले ठेका बनाउँदा लगाएको कामको ज्याला दिने खर्चसमेत प्रेमले यसपालि उठाउन पाउनुभएन ।

पहिले पहिलेका जस्तो गाउँघरमा गाईभैँसी पाल्ने प्रचलन हराएको छ । गाईभैँसी पाल्ने कमी हुँदा ठेकाठेकीको आवश्यकता कमी हुन्छ । बजारमा आएका विद्युत्बाट चल्ने मेशिनले आफूहरुले उत्पादन गर्ने ठेकाठेकीको खोजी कमी बनाएको अमलाचौरकै पूर्णबहादुर चुँदारा बताउनुहुन्छ ।

विदेशी प्लास्टिक र स्टिलका सामग्रीहरुको प्रयोग बढेका कारण गाउँघरमा समेत काठका सामग्रीको बिक्री कम हुने गरेको छ । मेलामा बिक्रीका लागि ल्याइएका अधिकांश स्थानीय उत्पादनको अवस्था उस्तै छ । “बाउबाजेका पालादेखिको सीप यही हो, ठेका र मदानी बिक्री नभए हाम्रो गुजारा चल्दैन,” उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रोत्साहन र विदेशी सामग्री निरुत्साहित गर्ने योजना स्थानीय सरकारले बनाउनुपर्छ ।”

पहिले पहिलेका भन्दा चैते दसैँ मेलामा पुग्नेहरुको तथ्याङ्क धेरै हुन्छ तर बागलुङमा नै उत्पादन भएका वस्तु तथा सेवाको कारोवार भने बर्सेनि घट्दो छ । युवा पुस्तामा स्थानीय उत्पादनप्रतिको मोह नजगाएसम्म पहिलेको जस्तो अवस्थामा पुग्न नसकिने कास्कीबाट मेला भर्न आउनुभएका इश्वरी शर्माले बताउनुभयो । “मैले सानो ठेकी किने, एक हजार मूल्य पर्ने रहेछ, ठेकीमा राखेको दही स्वाद नै फरक हुन्छ नि,” उहाँले भन्नुभयो, “ठेकीको दही खाएकालाई मात्रै थाहा हुन्छ स्वाद, फ्रिज गरेको स्टिल र प्लास्टिकमा जमाएको दही खानेले ठेकी खोज्दैनन् ।”

स्थानीय कालिगडकले तयार पारेका काठका ठेकीभन्दा बजारमा पाइने प्लाष्टिक र स्टिलका भाँडाको मूल्य कम हुने गरेकाले पनि ठेकीको व्यापार कम हुने गरेको छ । पछिल्लो समयमा मेला महोत्सवहरु सरु भए पनि बागलुङको पहिचान चैतेदसैँ मेला र कालिका भगवती मन्दिर नै वर्षको एकपटक लाग्ने र सबै पुग्ने एक मात्रै ऐतिहासिक मेला भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउनुहुन्छ । स्थानीयवासीले पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।