जीवन जिउने आधार वृद्धभत्ता

धु्रवसागर शर्मा/गलेश्वर, ३ वैशाख (रासस) ः न सन्तान, न सम्पत्ति ! त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो ।

आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरु बिताइरहनुभएका खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापाको जीवन जिउने आधार भनेको नै सरकारले दिने वृद्धभत्ता हो ।

सोही गाउँकी ८७ वर्षीया मसिनी कार्की सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुसी हुन्छ । पाँच वर्षअघि श्रीमान् बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आउनुभएकी कार्की वृद्धभत्ताबापत सरकारले दिने रकमलाई फारु गरेर खर्च गर्नहुन्छ । वृद्धभत्ताबाहेक उहाँको आम्दानीको अन्य कुनै स्रोत छैन । कार्की पनि सन्तानविहीन हुनुहुन्छ ।

थापा र कार्की मात्रै होइन, म्याग्दीका पाँच हजार बढी ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै सरकारले दिने वृद्धभत्ता बनेको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छवटा स्थानीय तह रहेको म्याग्दीमा पाँच हजार ६४६ ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । यसरी वृद्धभत्ता पाउनेमा कतिपय ज्येष्ठ नागरिक सन्तानविहीन हुनुहुन्छ भने धेरैजसोका छोराछोरी भए पनि सरकारबाट प्राप्त वृद्धभत्ताले नै आफ्नो गुजारा चलाउने बताउनुहुन्छ ।

समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाए पनि सरकार आफूहरुको गुजारा चलाउने माध्यम बनेको उहाँहरुको भनाइ छ । मालिका गाउँपालिका–५ देवीस्थानका एक वृद्धले छोराबुहारी भए पनि उनीहरुले हेँला गरेपछि अलग्गै बसेको र वृद्धभत्ताबापत पाइने रकमबाट गुजारा चलाएको बताउनुभयो । “छोराबुहारी त छन् तर, भन्नका लागि मात्र छन्”, मङ्गला गाउँपालिका–४ का जसबहादुर घर्तीले भन्नुभयो, “चामल, नुन, तेल सबै वृद्धभत्ताले किन्छु । खर्च टरेको छ । आफ्ना सन्तानबाट दुःख भोग्नु परे पनि हामीलाई सरकारले हेरेको छ, हामी बूढाबूढीलाई साँझ बिहान खाने गाँस र बिरामी पर्दा औषद्योपचार गर्ने खर्च पुगेको छ ।”

त्यसैगरी बेनी नगरपालिका–२ की इन्द्रकली थापा छोरीसँग बस्नुहुन्छ । श्रीमान् बितेको २५ वर्ष बित्यो । घर खर्च, औषद्योपचार र चाडपर्वमा नातिनातिनीलाई दक्षिणा वृद्धभत्ताबापत पाइने रकमबाट नै गर्नुहुन्छ । उहाँले भन्नुभयो, “काम गर्न सकुञ्जेल आफैँले दुःख गरेर खाएँ । अहिले काम गर्न सक्दिन, सरकारले दिएको पैसाले पेट पालेकी छु ।” बगरफाँटकी ७८ वर्षीया यामकुमारी शर्मा पनि छोराबुहारीसँग बस्नुहुन्छ । खान, बस्न समस्या छैन । वृद्धभत्ता ओखतीमुलोमा खर्च हुने उहाँले बताउनुभयो । “छोराबुहारीलाई आफ्नो व्यवहार धान्दै ठीक छ । सरकारले दिएको पैसा रोगी बूढीलाई दबाइमुलोमा सकिन्छ”, उहाँले भन्नुभयो ।

वाृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ । सङ्घीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षाभत्ता सचिवले वडा कार्यालय अथवा टोलटोल पुगेर वितरण गर्ने गरेको सम्झँदै सङ्घीयता कार्यान्वनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ ।

बेनी नगरपालिका–२ का वडाध्यक्ष राजाराम शर्मा सापकोटाले भत्ता बुझ्नका लागि बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको बताउनुभयो । “सरकारले दिएको भत्ता वृद्धवृद्धाको जीउने आधार त बनेको छ तर, बैंकसम्म धाउनुपर्दा उनीहरुलाई दुःख पनि निकै हुन्छ, सरकारले वडा कार्यालमार्फत घरआँगन वा सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट नै वितरण गर्ने व्यवस्था मिलाइदिए उहाँहरुलाई राहत हुने थियो”, वडाअध्यक्ष सापकोटाले भन्नुभयो ।

बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले वृद्धाभत्ता घरैमा ल्याएर दिए आफूलाई सजिलो हुने बताउनुभयो । “भत्ता लिन सदरमुकाम बेनीबजारको बैंकमा पुग्नुपर्छ । रोगी शरीरले भर दिँदैन । बैंकमा पनि लामो लाइनमा बस्नुपर्ने हुन्छ । बैंकमा पैसा निकाल्ने मेसिन बिग्रिँदा दोहोराएर जानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।