बगरमा सामूहिक खरबुजा खेती, राम्रो आम्दानीले किसान खुसी

नारायणी रजौरे/दाङ, ८ वैशाख । ” पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक रुपमा सफल र सवल बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगरको दक्षिणतर्फको जमिनमा अहिले हरियाली छाएको छ । यतिखेर सो जमिनमा खरबुजाका लदाबदी फलेका छन् ।

अहिले टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दै छ । ग्राहकहरुले बोटमै गएर किन्छन् र आनन्द लिन्छन् । ग्राहकहरु आफैले टिपेर किन्न त्यहाँ पुग्ने गर्दछन् ।

तिनै पौरखी किसानमध्येकी एक हुन् ४९ वर्षीया सनकुमारी चौधरी । बलरामपुर गाउँकी उनी पनि अहिले बालुवामै खरबुजा फलाउन व्यस्त छिन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरु बेमौसमी तरकारीको पनि खेती गरेका छन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

लमही नगरपालिका–४ को सिम्रहवामा बस्दै आएकी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन् । उनले भनिन् “पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई विचल्ली नै पा¥यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्ने, घरखर्च चलाउने र यतिमात्र नभएर छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ । ”

पछि राप्ती नदीले आफनो धार परिर्वतन ग¥यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । त्यसपछि सबै गाउँलेले सल्लाह गरेर यो खेतीको कार्यक्रम बनाएको चौधरीले सुनाइन् । ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफै लखपति भएका छन् । उनीहरु आफैले मनग्य आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा गरेका छैनन् ।

चौधरीको छ जनाको परिवार छ । छोराछोरी पढ्न जान्छन् तर चौधरीका अरु सबै परिवार यही बगरको खेतीमा हुन्छन् । दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारी छन् ।

उनीहरुको आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारीले बताइन् । बेमौसमा पानीको समस्या हुने भएकोले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गरेका छन् । खोलाको पानी बोकेर ल्याई सिँचाइ पु¥याउने गरेको उनले सुनाइन् ।

स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी सस्थाले बगरखेतीको लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ । तर त्यो पर्याप्त नभएकाले आफूहरुले नै मल बीउ किनेर खेती गरिरहेको किसानको भनाइ छ । आफूहरुले रमाएर खेती गरिरहेको किसान सुनाउँछन् ।

सोही ठाउँकी रीता चौधरीले पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफुहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । “सुरुमा त निराश पनि भयौँ । हामीले यो बालुवामा केही फलाउन सकौँला जस्तो पनि लागेको थिएन । तर अहिले भने आफ्नो मुख्य आम्दानी नै यही भएको उनीहरुको अनुभव छ । मासिक सबै खर्च पुर्याएर केही थोरै भए पनि बचत गर्न पाउँदा खुसी लागेको उनीहरु सुनाउँछन् ।

तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको उनले बताइन् । सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढलाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ । उनले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गरिदिए यहीँ नै ठूलै आम्दानी गर्न सकिने बताइन् ।

लमही नगरपालिका– ४ की ३७ वर्षीया माया चौधरीले पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताइन् । उनले पनि एक बिघा जमिनमा खरबुजा र एक बिघा जमिनमा बोडी, लौका फर्सी, भण्टा ,काँक्रा लगाएकी छिन् । उनले पनि एक मौसममा रु डेढ लाख जति आम्दानी भएको सुनाइन् ।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले दुई हजार भन्दा बढी किसानले बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका छन् । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका दुई हजार १८ जना किसानले १०२ वटा समूह बनाएर सामूहिक बगर खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।