गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

वालिङ, ४ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको ३५ रोपनी गरी ५० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिने भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

“गाउँपालिका आफैले फूल खेती गरेर उत्पादित फूल बिक्रीबाट राम्रो आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ जोड्नका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले ईच्छुकहरुको माग सङ्कलन गर्दा १४ किसान तथा किसान समूहलाई छनोट गरेर ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।”

गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछार भन्ने स्थानमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्न नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका किसान समूह तथा किसानलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताउनुभयो ।

“खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ”, उहाँले भन्नुभयो, “उत्पादित फूल तथा माला किसान समूह वा किसान आफै बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ ।” गतवर्ष गाउँपालिकाले परीक्षणका रुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यसवर्षबाट किसानलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।

पालिकाका सात वटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र दश किसान गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । किसान समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती गर्नेछन् । “पालिकाले नर्सर राखेको स्थानमा नै सबै किसान समूह तथा व्यक्तिलाई बोलाइ प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “किसान समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आ–आफ्नो ठाउँमा लगेर प्रयोग गर्नुभएको छ, अहिले बीउ राखेर बेर्ना उमारिसक्नुभएको छ ।”

बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ । गाउँपालिका तथा किसान समूह, किसानले विशेषगरी दसँैं तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट ४०० फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उहाँको भनाइ छ ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खाली खेर गईरहेको जमिनको सही सदुपयोग हुने, फूलका माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनाका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।