ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

रामबहादुर थापा/बागलुङ, २२ भदौ (रासस) : वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उहाँले भन्नुभयो, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।”

नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

“बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, उहाँले भन्नुभयो, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।” बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ । विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ । आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११÷११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो । नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ । यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ । आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताउनुभयो ।

“बँदेलको सिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ”, उहाँले भन्नुभयो, “यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।” नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उहाँको भनाइ छ । “हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ”, थापाले भन्नुभयो, “नेपालीहरु पनि ढोरपाटनमा सिकार खेल्न इच्छुक छन्, सिकारमा रमाउन चाहान्छन्, त्यो अवसर दिनुपर्छ ।”

रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ ।

ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा २० नाउर र ११ झारलको सिकार गरिन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।

चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।