बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।
नगरले चालु आव २०७९/८० को नीति तथा कार्यक्रममा नगरभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेललगायतका ठाउँमा ‘होमस्टे’ सञ्चालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख छ ।
नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र व्यवसाय प्रबद्र्धनमा टेवा पु¥याउन नगरले ‘होमस्टे’ सञ्चालनको योजना ल्याइएको नगर प्रमुख मीठाराम अधिकारीले बताए । उनले भने, ‘होमस्टे सेवा नगरभित्रका केही ठाउँमा सञ्चालनमा आएका छन् उहाँहरुलाई प्रोत्साहन गर्न र अन्य नयाँ स्थानमा सञ्चालन गरेर पर्यटक भित्र्याउन योजना अगाडि बढाएका हौँ ।’
बूढानीलकण्ठ सहरदेखि गाउँसम्म फैलिएको स्थानीय तह हो । यहाँका कतिपय ग्रामीण बस्तीमा ‘अर्गानिक’ (जैविक) उत्पादन पाइन्छ । ‘अर्गानिक’ परिकारको स्वादमा रम्ने र शहर नजिकैका गाउँघर घुम्नेको संख्या बढेको बुनपा–५ का वडासदस्य हेप्सिवा तामाङको भनाइ छ । नगरले ‘अर्गानिक’ को योजना अघि सार्दा यहाँ व्यवसाय सञ्चालन गर्ने व्यवसायी उत्साहित बनेका छन् ।
नगर उपप्रमुख अनिता लामाले सञ्चालनमा रहेका विभिन्न व्यवसाय प्रवद्र्धन गर्नका लागि योजना अघि सारिएको बताइन् । उनले भनिन्, ‘नगरभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचार गर्न र रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले ‘होमस्टे’ अभियान अगाडि सारेका हौँ । होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आम्दानीमा थप सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ ।’
डाँडागाउँ तथा चिसिनीलगायतका ‘होमस्टे’ पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौंको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । काठमाडौंको सुन्दरता हेर्दै सफा वातावरणमा लोकल खानेकुरासमेत पाइने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका ‘होमस्टे’ व्यवस्थापक दोर्जे तामाङको भनाइ छ ।
स्थानीयले सञ्चालन गर्ने ‘होमस्टे’ सेवा प्रवद्र्धनका लागि नगरपालिकालेसमेत योजना ल्याएपछि व्यवसायी उत्साहित भएका छन् । नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ–५ डाँडागाउँमा होमस्टे सञ्चालन गर्दै आएकी देवकी तामाङ बताउँछिन् ।


