झापा र इलामको चिया बगानमा कार्यरत श्रमिक ज्याला वृद्धिको माग राख्दै आन्दोलित

झापा, २ साउन (रासस) : झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । आफ्ना माग बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका छन् । श्रमिक सङ्गठनले नेपाल चिया उत्पादक सङ्घ, साना किसान चिया सहकारी सङ्घ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योगलगायतका संस्थामा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन् ।

श्रमिकले चिया बगान तथा प्रतिष्ठानमा एक सातासम्म कालो झण्डा राख्ने र त्यस बेलासम्म पनि मागको सुनुवाइ नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताउनुभयो । श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक सङ्गठनको माग रहेको छ ।

“चिया बगानका श्रमिकले अहिले पाइरहेको ज्यालाबाट बिहान बेलुकाको छाक टार्न पनि पुग्दैन”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राईले भन्नुभयो, “हरेक वर्ष आन्दोलन गर्नु परिरहेको छ । आन्दोलन सुरु भएपछि आश्वासन मात्र पाइएको छ । राज्यले बनाएका कानुनबमोजिम नै हामीले ज्याला पाउनुपर्छ भनिरहेका छौँ ।” दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग रहेको छ ।

झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन् । झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ ।––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।