पहिलेको चरन क्षेत्र बन्यो पर्यटकीय गन्तव्य

– डम्मर बुढा मगर
ढोरपाटन, ७ साउन (रासस) ः समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेको छ टाकुरा । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केहीमाथि यो टाकुरा पर्छ । टाकुरा उच्च पहाडको शिरमा समथर भू–भागमा फैलिएको छ । तलपट्टी गाउँबस्ती छन्, त्यसभन्दा माथि बस्ती छैन । पर्यटकीयस्थल नरसिंहकोटको सामिप्यतामा रहेको टाकुरा यसकारण पनि पछिल्लो समय एक आकर्षक गन्तव्य बन्दै गएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगामन हुने गर्छ । निसीखोला र बडिगाड गाउँपालिकाको सङ्गमस्थलमा पर्ने यो एक खुला चौर हो । पहिले पशु चौपाया चरन क्षेत्रका रुपमा रहेको टाकुरा अहिले घुमफिर गर्ने उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको छ । वरपर रुख र बीचमा खाली समथर मैदान छ । यो मैदानले धेरैलाई आकर्षित गर्छ । अझ वर्षातका बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ ।

ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिकका लागि निकै उपयुक्त स्थानका रुपमा मानिन्छ । आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन् । शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिक यहाँ घुम्न जाने गरेका छन् ।

नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन् । तराई–पहाड जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेपछि स्थानीसमेत हर्षित छन् । भीमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधैँ पुग्न सकिन्छ । यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन, तर गोरेटो बाटोमार्फत नै पदैलयात्रा गरेर पर्यटक यहाँ पुग्ने गरेका छन् ।

अझ ‘ट्रेकिङ’ गर्नेका लागि त झन् यो स्थान अति उपयुक्त मानिन्छ । विगतका वर्षभन्दा पछिल्लो दुई वर्षयता यहाँ घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय तिलबहादुर विकले जानकारी दिनुभयो । अहिले नरसिंहकोट आउने सडक सहज भएको र यहाँ आउने अधिकांश आगन्तुक टाकुरा पुग्ने गरेको उहाँको भनाइ छ । बर्खाको समय पनि मान्छे हरियाली घाँसमा फोटो, भिडियो खिच्न र रमाइलो गर्न आउने गरेको विक बताउनुहुन्छ ।

नरसिंहकोटदेखि टाकुरालाई सडक सञ्जालले जोड्न सके बढीभन्दा बढी पर्यकट भित्र्याउन सकिने विकको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले–पहिले यो ठाउँमा गाईभैँसी चराउने गरिन्थ्यो, अहिले त मान्छेको भीड लाग्छ, अझ चाडपर्व र बिदाको दिन हुनुपर्छ, धेरै मान्छे आउने, गीत बजाउने नाच्ने गर्छन्, अहिलेसम्म मोटरबाटो पुगेको छैन, तर मान्छेहरु हिँडेरै जान्छन्, पहिले नरसिंहकोट आउने यहीबाटै फर्किने गर्थे, टाकुराको नामै सुनिदैनथ्यो, अहिले निकै चर्चित बन्यो, जसले पनि टाकुरा जाने भन्छन्, चाडवाडका बेला त तीन÷चार सय मान्छे आउँछन् ।”

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटसँग टाकुरालाई जोड्न सके पर्यटन विकासमा टेवा पुग्ने थियो । टाकुराबाट देखिने अगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । यसको विकासका लागि सडकसँगै पर्यटन पूर्वाधार निर्माण गरिने निसीखोला–७ का वडाध्यक्ष दीपक कुवँरले बताउनुभयो । अध्यक्ष कुँवरले एतिहासिक नरसिंकोटमा धेरै भौतिक संरचना निर्माण भएको भन्दै नरसिंहकोट र टाकुरालाई जोडेर पर्यटकीय हबका रुपमा विकास गर्ने बताउनुभयो ।

“पछिल्लो समय नरसिंहकोट र टाकुरामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ, नरसिंहकोटमा विगतदेखिनै धेरै संरचना बन्दै आए, अब करिब–करिब पूरा हुने चरणमा छ, टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएका छैनन्, संरचना नबन्दा पनि नरसिंहकोट आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ”, अध्यक्ष कुवँरले भन्नुभयो, “यसपाली प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, केही बजेट प्रदेशको र पालिकाबाट केही मिलाएर सडक निर्माण गर्नुपर्ने छ, सुरुवाती चरणमा छौँ, काम गर्दै जाने योजना बनाइरहेका छौँ ।”

सडक निर्माण गर्दा टाकुराको सौन्दर्य कुरुप बन्ने हुँदा व्यवस्थित रुपमा काम गर्ने अध्यक्ष कुँवरको भनाइ छ । आवश्यक ठाउँमा पदमार्ग, शौचालय र खानेपानीको व्यवस्थापन गर्न बाँकी रहेको हुँदा विभिन्न निकायसँग सहकार्य गरेर काम गर्ने उहाँ बताउनुहुन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।