मुख्यमन्त्रीमा बाबुराम गौतमको पनि दाबी
काठमाडौं,१६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सभामुख त्याग्नु परे मुख्यमन्त्री बनाउनुपर्ने सर्त अघि सारेका छन् ।
माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले सभामुखबाट राजीनामा दिएर बहुमत पुर्याउन बारम्बार दबाब दिएपछि राजीनामा दिने तयारीमा रहेका गौतमले मुख्यमन्त्रीमा दाबी गर्दै बार्गेनिङ गरेका हुन् ।
केन्द्रीय नेतृत्वले भने सभामुख छोडेर रोजेको मन्त्रालय लिन प्रस्ताव गरेको छ । तर मन्त्रीभन्दा माथिल्लो पद त्यागेपछि तल झरेर मन्त्री नखाने भन्दै गौतमले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
कोशीको नयाँ मुखयमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिँदैछ । समय घर्किँदै जाँदा दलहरुलाई बहुमत जुटाउन निक्कै सकस परिरहेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट उद्धव थापा, माओवादी केन्द्रका तर्फबाट ईन्द्र आङबो र सभामुख गौतमसहित ३ जनाले दाबी गरेका छन् ।


