विद्यार्थीलाई किताब बोक्न नपर्दा …

मध्यविन्दु (नवलपरासी), २० कात्तिक ः नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ ।

विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उहाँलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उहाँको भनाइ थियो ।

छात्र बोहराले भन्नुभयो, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।” चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरिएको छ । पहिले झोला गहुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् ।

कक्षा २ मा अध्ययनत छात्रा वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उहाँले कहिलेकाहीँ किताब लिएर आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमै किताब छ तर कहिलेकाहीँ एक–दुई वटा किताब ल्याउँछौँ । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।

कक्षा ३ मा अध्ययनत आदित्य गौतमले आफ्नै कक्षामा भएको ‘बुक कर्नर’बाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको जानकारी दिनुभयो । “किताब घरमा छुट्यो भन्न पनि पर्दैन, स्कुलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ, आफैँ किताब निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ । ”

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिनुभयो । “बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो”, उहाँले भन्नुभयो, “अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुने छ ।”

अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले बताउनुभयो ।

“हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ, अब अर्को शैक्षिक सत्रदेखि सहज हुन्छ”, उहाँले भन्नुभयो, “हामीले तीन कक्षासम्म मात्र नभई अब पाँच कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।