बिहे गर्न नमान्दा गरेका थिए धिरेनले ज्ञानमतिको विभत्स हत्या
मोरंग । मोरङको पथरीशनिश्चरे ७ मा सोमबार राति हत्या गरिएकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको प्रहरीले बताएको छ।
१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो।
आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ। आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका हुन्। उनी अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका थिए। हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।
प्रहरीका अनुसार किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रहरीसँग आरोपीले बयान दिएका छन्। विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेको र सामाजिक सन्जालमार्फत ज्ञानमतिसँग नजिकिएको प्रहरीको भनाइ छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन्।
घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।


