महानगरद्वारा सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ ।

आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताउनुभयो । ‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उहाँले भन्नुभयो, ‘अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’
जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताउनुभयो । उहाँले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गर्नुभयो । पराजुलीले बचतकर्ताहरुबाट संकलित रकम सञ्चालकहरुले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको बताउनुभयो ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताउनुभयो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उहाँको भनाइ थियो । सो अवसरमा जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औंल्याउनुभयो ।

महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।