झापामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते
झापा । झापाको चारआली-चन्द्रगढी सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
दुर्घटना हिजो राति करिब ९:५० बजे भद्रपुर-१० हनुमानचोकमा भएको थियो। गम्भीर घाइते भण्डारीलाई ओमसाई पाथिभरा अस्पताल पुर्याइएपछि चिकित्सकले १०:४३ बजे मृत घोषणा गरेका थिए।
अन्य घाइते सोही ठाउँका २४ वर्षीय बिपान्सु राउतको बिर्तासिटी अस्पतालमा र २५ वर्षीय सञ्जीव गिरीको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
गिरीलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


