झापामा एक ब्यक्ति माथि छुरा प्रहार
झापा । झापाको दमकमा लेनदेन विवादले उग्र रूप लिँदा एक व्यक्तिलाई छुरा प्रहार गरिएको छ, जसबाट उनी गम्भीर घाइते भएका छन्।
दमक नगरपालिका–७ निवासी २७ वर्षीय सोनु अहमदलाई नमुना मार्गस्थित सटिङ सुटिङ टेलरमा काम गर्ने क्रममा विवाद बढ्दा सुनसरी धरान उपमहानगरपालिका–३ निवासी २९ वर्षीय एजात अहमदले छुरा प्रहार गरेका हुन्।
घटनापछि सोनुलाई लाइफलाइन अस्पताल दमकमा प्रारम्भिक उपचार गरेर बिर्तामोडको B&C अस्पतालमा लगिएको थियो। उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि धरानको घोपा अस्पतालमा पठाइएको छ।
छुरा प्रहारपछि फरार भएका एजात अहमदले प्रदेश नं. १–०२–०४५ प ६३१९ नम्बरको स्कुटरमा भाग्ने प्रयास गर्दा गणतन्त्र चोक, दमकमा अनियन्त्रित भई दुर्घटनामा परेका छन्। दुर्घटनाका कारण उनको बाँया खुट्टामा चोट लागेको छ। उनलाई अहिले प्रहरी निगरानीमा दमकको निम्स अस्पतालमा राखिएको छ, र घटनामा प्रयोग गरिएको स्कुटर इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।-रुटिन अफ झापा बन्द


