उर्लाबारीमा खागोले टोकेर ६ जना घाइते
मोरंग । मोरङ उर्लाबारी -८ मा खागो (माहुरी)ले टोकेर ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–८ आमबारी बजारमा पिपलको रुखमा खागोको गुँड थियो ।
एक्कासि बिच्किएको खागोले टोकेर उर्लाबारी–८ का ५५ वर्षीय वीरबहादुर लिम्बू, ५४ वर्षीया रामकु्मारी लिम्बू, तत्काल नामथर नखुलेका उर्लाबारी–८ कै अन्दाजी ६५ वर्षीय पुरुष, उर्लाबारी–९ का ५५ वर्षीय भीमबहादुर दर्जी, झापाको दमक नगरपालिका–१० का ६४ वर्षीय लोबहादुर धिमाल र दमक–१० की ५४ वर्षीया श्यामश्वरी राई घाइते भएको प्रहरीले जनाएको छ।
घाइते भएकाहरुको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर, गोदावारी अस्पताल र अरनिको अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
चिल वा कुनै चराले गुँडमा ठुँगेर असर पुर्याएका कारण खागो बिच्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।-सुन्दरहरैचा अपडेटबाट


