झापामा एक वृद्धाको हत्या
झापा ।झापा गाउँपालिका-६ मा एक वृद्धाको हत्या भएको छ। ८१ वर्षीया फूलमणि सोरेनको शव गाईबस्तुहरूको घाँस खाने हुँडमा परालले छोपेर लुकाइएको अवस्थामा फेला परेको हो
परिवारका अन्य सदस्य मकै रोप्न गएका बेला हत्या भएको बताइएको छ। काम सकेर घर फर्किंदा फूलमणि घरमा नदेखिएपछि खोजी गर्ने क्रममा हुँडमा परालले ढाकेर राखिएको अवस्थामा शव भेटिएको हो। मृतककी छोरीज्वाइँले पराल हटाउँदा शव देखिएको वडाध्यक्ष नवीन किशोर थापाले जानकारी दिए।
घटनास्थलमा भेटिएको फरुवा हत्या गर्न प्रयोग भएको आशङ्का गरिएको छ। प्रारम्भिक अनुसन्धानमा वृद्धा मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा फरुवाले प्रहार गरी हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको छ भने घटनामा संलग्न भएको शङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको छ।


