पाँचथरको याङवरकमा प्रहरी चौकी नागीथर्पुको नव निर्मित भवनको समुदघाटन
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-४ थर्पु स्थितमा रहेको प्रहरी चौकी नागीथर्पुको नव निर्मित भवनको समुदघाटन भएको छ ।
मंसिर २७ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका राष्ट्रिय अनुसन्धान निर्देशक ईन्द्र सिंह लामा, जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईराला, याङवरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्या, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको विशेष आतिथ्यतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो ।
नव निर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नव निर्मित भवन प्राप्त भए संगै यस क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप गुणस्तरिय हुनेमा विश्वस्त दिलाउनुका साथै सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकोले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो ।
वहाँले नव निर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरी चौकीलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दाता मन बहादुर योङहाङ, बाटोको लागि जग्गा उपलव्ध गराउनु हुने श्याम बहादुर मावो तथा भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई सम्मान गर्नुका साथै सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि, संचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रहरी चौकीको नव निर्मित भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ९८ लाख ५६ हजार रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको थियो ।


