रात्रीकालिन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन विराटनगर महानगर अग्रसर

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।

दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिनुभयो ।

उहाँले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिनुभयो ।

विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाई शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीतगजल र दोहोरीसाँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।

समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रीकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीतगजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् । समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाई कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।

मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । व्यवसायीकै आग्रहअनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो । सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीतगजल रेष्टुरेन्ट, दोहोरीसाँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, होहल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए । मेयर कोइरालाले व्यवसायीहरूले विवगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद भएको प्रतिक्रिया दिनुभयो । ‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘कम्तिमा व्यवसाय गर्दा अरुलाई बाधा त पुग्नु भएन नि ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।