अपडेट : उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते
सप्तरी । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा आउँदै गरेको बस आइतबार मध्यान्ह सप्तरीको कन्चनरुपमा दुर्घटना हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते भएका छन्।
बस अनियन्त्रित भई पल्टिँदा सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र पहिचान नखुलेका एक पुरुष र एक महिलाको ज्यान गएको हो। मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुग्नासाथ मृत घोषणा गरिएको थियो। अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
बसमा ३५ जना सवार थिए। घाइतेहरूमध्ये केही गम्भीर छन् र विराटनगर तथा कन्चनरुपका अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर लगायत घाइते भएका छन्।
बस चालक अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।


