कोशीका कृषिमन्त्री हाङगामले खोसे सचिवको गाडी
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगाम फेरि विवादमा मुछिएका छन् ।
विगतदेखि नै विभिन्न विवादमा मुछिदै आएका उनले सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् । मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी रहेको मन्त्रालय स्रोतले बतायो ।
आफूले चाल्न खोजेको कदममा सचिवले असहयोग गरेको भन्दै हाङगामले गाडी नै खोसेका हुन् । मन्त्रालयको को १ झ ६७९ नम्बरको गाडी चढेर सचिव पाण्डे सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए । छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी उनले देखेनन् ।
चालकलाई सम्पर्क गर्न खोज्दा फोन ‘स्विच अफ’ थियो । पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको थाहा पाएको सचिव डा. पाण्डेले बताए । अन्ततः पाण्डे मोटरसाइकल चढेर मन्त्रालय फर्किन बाध्य भएका थिए । पाण्डेले यो घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराएका छन् ।-बेतना दैनिक


