‘केपी ओलीको राष्ट्रवाद’ सञ्जालको टिप्पणीप्रति एमाले असन्तुष्टि
काठमाडौं । भारतीय विदेशमन्त्रीलाई काठमाडौंमा एमाले नेताहरुले रात्रिभोजमार्फत स्वागत गरिरहँदा सामाजिक सञ्जालमा आएका विभिन्न खाले टिप्पणीहरुप्रति एमाले नेताले चित्त दुःखाएका छन् ।

‘केपी ओलीको राष्ट्रवाद’ देखियो भन्दै कतिपय टिप्पणीहरु सामाजिक सञ्जालमा आउन थालेपछि एकजना एमाले नेताले भने ‘के हामीले राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनु अपराध हो ? एमाले अध्यक्ष केपी ओलीले देशको राष्ट्रिय स्वाभिमानका पक्षमा राख्दै आएको अडानमा उहाँ विचलित हुने कुनै प्रश्नै छैन ।’
भारतले नेपालसँग सम्बन्ध सुधार्न खोजेको हो र सोही उद्देश्य राखेर सुष्मा नेपाल आएकी हुन् भने त्यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने एमाले नेताको भनाइ छ । ती एमाले नेताले भने ‘भारतसँग राम्रो र सम्मानजनक सम्बन्ध होस् भन्ने हामी सबैले चाहेको हो, तर ‘राष्ट्रवाद’ लाई गिज्याइने विषय बनाइनुहुँदैन । अहिले सामाजिक सञ्जालमा जुनप्रकारको भाषा प्रयोग भइरहेका छन्, त्यसमा हामीलाई दुःख लागेको छ ।’


