सिद्धान्त र विचारका आधारमा एमाले र माओवादी केन्द्रबीच एकीकरण

पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा(माओवादी केन्द्र)बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य संघको आज यहाँ आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो । अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उहाँले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिनुभयो ।

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गर्नुभयो । एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।