काठमाडौं-तराई-मधेश ‘फास्ट ट्रयाक’ निर्माण द्रुत गतिमा

मकवानपुर, माघ २० । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।

काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको द्रुतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए ।

मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ । त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ ।

दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको अर्का प्रमुख सेनानी भरतलाल श्रेष्ठले बताए ।

प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने सन्दर्भमा निकट भविष्यमै थप पाँच स्थानमा अन्य शिविर खडा गरिने जनाइएको छ । राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २०० जनशक्ति खटाएर सहायकरथी भरतबहादुर खड्कालाई रुख कटाको जिम्मेवारी दिइएकामा टोलीले हालसम्म १५ हजार कटान गरी व्यवस्थापनसमेत गरिसकेको छ । झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए ।

द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई दिएको हो । उक्त राजमार्गको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो । उक्त राजमार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ ।

द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने तथा मकवानपुरको ठिङ्गनमा १.४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताए । उनले भने, ‘आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइनेछ ।’

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ । उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ । ती पुल ८० मिसम्म अग्लो हुने अनुमान गरिएको छ ।

सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ । दायाँबायाँ ५० मि दिएर जग्गा अधिग्रहण गरिएको २७ मि चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्नेछ । निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले सो सडकको महत्वलाई अझ उजागर गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।