वीरगञ्जले पाउने भयो मुख्यमन्त्री !, प्रदेश नं २ को फोरम संसदीय दलको नेतामा राउत चयन, को हुन् लालबाबु ?
महेन्द्रनगर, धनुषा, २२ माघ । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ ।
राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् । जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो ।
यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए । नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा अन्यले नाम फिर्ता लिँदै राउतलाई सर्वसम्मतिबाट संसदीय दलका नेताका रुपमा चयन गरिएको हो । प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ । राजपा नेपालको २५ सिट रहेको छ ।
को हुन् लालबाबु ?
वीरगञ्जले प्रदेशको राजधानी मागिरहेका बेला मुख्यमन्त्री चाहिँ वीरगञ्जकै बासिन्दा बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष रहेका लालबाबु राउत पूर्वसभासद समेत हुन् । उनी दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट सभासद थिए । उनी वौद्धिक युवा नेताका रुपमा परिचित छन् ।
मुख्यमन्त्रीका सम्भावित पात्र राउत भोजपुराका नेता हुन् । उनी पर्सा जिल्लाको साविक जगरनाथपुर वडा नम्बर ३ मा ०२३ साल असार १५ गते जन्मेका हुन् । पछि उनको बसोबास वीरगञ्ज-१५ मा भयो ।
वीरगञ्जले प्रदेशको राजधानी मागिरहेका बेला मुख्यमन्त्री चाहिँ वीरगञ्जकै बासिन्दा बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।
फोरम उपाध्यक्ष राउतले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।
राजनीतिमा प्रवेश गर्नुअघिसम्म उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय अंग्रेजी विषयमा प्राध्यापन पेशासमेत गरेका थिए ।
राजनीतिमा ०५८ सालदेखि प्रवेश गरेका राउत संविधानसभामा युवा पुस्ताका वौद्धिक नेताका रुपमा परिचित थिए । संविधानसभामा आएपछि उनको राजनीतिक उचाई राष्ट्रिय रुपमा चुलिएको हो ।
पार्टीभित्र पनि राउत सक्रिय एवं अध्यक्ष उपेन्द्र यादवका दाहिने हातका रुपमा परिचित छन् । प्रदेशसभा सदस्य राउतले भारत, चीन र बंगलादेशको भ्रमण गरेका छन् ।


