ओली सरकारमा को को बन्दैछन् मन्त्री ?, यस्तो छ मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री ओलीको तयारी (भिडियो सहित )
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमति भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् हुने भएकाले मन्त्री बन्न नेताहरुको दौडधूपसमेत सुरु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मुलुक संघीय संरचनामा गइसकेपछि केन्द्रीय मन्त्रालयको संख्या कम हुने भएका कारण यस पटक धेरै नेता मन्त्री बन्ने छैनन् ।
त्यसमाथि संविधानले नै बढीमा २५ सदस्यीय मन्त्रीपरिषद्को परिकल्पना गरेकाले पनि मन्त्रिपरिषद् सानो नै हुने छ । संघीय प्रशासनिक पुनर्संरचना समितिले प्रदेशमा ७ र केन्द्रमा १५ मन्त्रालय प्रस्ताव गरेको छ ।
हाल रहेका मन्त्रालयका धेरै अधिकार प्रदेशमा गएकाले केन्द्रमा मन्त्रालय कम हुने भएको हो ।
बढीमा २५ जनालाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानले गरेको भए पनि प्रधानमन्त्री ओलीले अझ सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिका बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।
माओवादी केन्द्रबाट नाम सिफारिस भएर आउने वित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ । यसअघि नै प्रधानमन्त्री ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाइसकेका छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारी भइसँगै एमाले र माओवादी केन्द्रका नेताहरु मन्त्री बन्ने दौडधूपमा लागेका छन् ।
दुवै दलमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिलेको सरकार स्थिर प्रकृतिको भएकाले पाँच वर्षसम्म मन्त्री बन्न पाइने भन्दै नेताहरु मन्त्री बन्ने दौडधूपमा लागेका हुन् ।
एमालेबाट उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी मन्त्री बन्ने तयारीमा छन् ।
त्यसैगरी यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बास्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पद्मा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले, गणेशसिंह ठगुन्नाले पनि मन्त्रीमा आकांक्षा देखाएका छन् ।
माओवादी केन्द्रमा पनि मन्त्रीका आकांक्षी धेरै छन् ।
रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नी सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्टलगायतबाट मन्त्री बन्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले यस पटक काम गरेर देखाउनुपर्ने भएकाले कामकाजी खालका व्यक्तिलाई बढी प्राथमिकता दिने बताइएको छ ।
कार्यक्षेत्रमा बढी खटिने र जनताले बढी विश्वास गरेका तथा विवादमा नपरेकालाई मन्त्री बनाउने मनस्थिति प्रधानमन्त्रीले बनाएका छन् । भिडियो


