मन्त्री छान्ने जिम्मा ओलीलाई, मधेवादी दल पनि सरकारमा !
काठमाण्डौं, ११ फागुन । नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । स्थायी कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।
एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव योगेश भट्टराईले बताए । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए ।
भट्टराईले भने, ‘माओवादी बाहेक पनि मधेशवादी दललाई समेत सामेल गराउने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले फोरम र राजपासँग परामर्श गर्नुहुन्छ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जिम्मा उहाँलाई नै दिएको छ ।’
पार्टीभित्रबाट मन्त्री छनोट गर्ने सन्दर्भमा प्रधामन्त्रीले स्थायी कमिटीका नेताहरुसँग राय परामर्श लिएर व्यक्ति आफैंले छान्ने भट्टराईले बताए । ‘सबै कुरालाई ध्यान दिदै भूगोल, पार्टीभित्र योग्यता क्षमता र समावेशीता मिलाएर प्रधानमन्त्रीले पार्टी नेताहरुसँग राय परामर्श लिएर मन्त्रीहरुको छनौट गर्ने निर्णय भएको छ’ उनले भने ।


