कस्ले देख्ने राजको दु:ख ? : बुबा बितेपछि बिद्यालय छाडेर सप्तकोशी नदी किनारमा माछा बेच्दै १५ बर्षिया खान
धनकुटा खबर । देशभरीका बालबालिकाहरु धेरै पढेर सुन्दर भबिष्यको सपना देखिरहेका बेला त्यहि उमेरका १५ बर्षिया राज खानलाई हरेक दिन माछा बेचेर घर चलाउन सपनाले पिरोलरहेको हुन्छ ।
‘माछा खाउँ हजुर,प्लेटको एक सय मात्र’ उनी हरेक दिन यसरी नै सप्तकोशी नदी स्थित भिमनगर पुल किनारमा बसेर ग्राहकको पर्खाईमा हुन्छन् ।
सुनसरी ईनरुवा नगरपालिका हरिपुर ८ का १५ बर्षिया राज खान गएको १ बर्ष देखि हरेक बिहान देखि बेलुकी अबेर सम्म सप्तकोशीको माछा बेचेर घर चलाउन आमालाई मद्दत गरिरहेका छन् ।
आर्थिक अबस्था कम्जोर भएकाले पहिला पनि घरमा सघाउनका लागि पढ्दै छाड्दै गरेका खानले गएको साउन १ मा बुवाको स्वर्गरोहण भएपछि अब सदाको लागि बिद्यालय छाडेको बताउँछन् ।

बुवा हुंदा उनैले पसल गरेपनि उनको देहान्त पछि पसलमा काम गर्ने मान्छे नभएपछि बाध्य भएर आफूले बिद्यालय छाडेर ‘दोकान’ मा काम गरेको बताउँछन् ।
बिद्यालय नगएर किन काम गरेको भन्ने प्रश्नमा ‘काम नगरे के ले खाने ?’ उनी उल्टो प्रस्न गर्छन । ४ जनाको परिवार रहेको खानकी ४० बर्षिया आमा बिना खातुन काममा नै ब्यस्त हुन्छिन् ।
एक दिदीको बिवाह भई सक्यो भने उनका १८ बर्षिया दाजु अनबर खान पनि घर चलाउनकै लागि कोशीमा बगेर आएको दाउरा निकालेर बेच्ने काम गर्छन् ।
हरेक बिहान ६ बजे देखि राती ९ बजे सम्म कोशी नदीमा मछुवाराहरुले मारेको बिभिन्न प्रजातिका भुरा माछा खरिद गरेर उनले बेच्ने गरेका छन् ।
पहिला बुवाले दैनिक निकै राम्रो आमदानी गरेपनि उनले दैनिक १ हजार देखि ३ हजार सम्मको मात्र ब्यपार गर्न सकेको उनको गुनासो छ ।
भएको एक कठ्ठा जमिनमा घर बनाउनै ठिक्क भएपछि कुनै खेती गर्ने अबस्था नभएपछि उनीहरुले यो पेशा रोजेको खानले बताए ।
स्कुल जान मन लाग्दैन ? ‘जान मन लागेर के गर्ने हजुर ! तर काम कस्ले गर्ने ?,काम नगरे के ले खाने ?’ उदास मुद्रामा खानले भने ।
उक्त ब्यारेज किनारमा ५० परिवार भन्दा बढी घरपरिवारले कोशीको माछा बेचेर जीवन गुजार गर्ने गरेको खानले बताए ।


