छोराले छाडेर गएपछि कोठामै दिशापिशाव गर्न वाध्य मनोरोगी आमाको उद्धार

काठमाडौँ । “कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ”, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाउनुभयो ।

कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महीना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने उहाँ छोराले छाडेपछि कोठाभित्रै दिसापिसाब गर्दै आउनुभएको छ ।कोठाको भाडा र केही खानेकुरा छिमेकी युवराज बुढाथोकीले दिनुहुन्थ्यो । “कुनै बेला नाङ्गै पनि हुनुहुन्थ्यो, छोरो पनि आमा छाडेर कता भाग्यो थाहै भएन, त्यसपछि हेर्ने मान्छे नै नभएर मैले नै सहयोग गर्थं”, बुढाथोकीले भन्नुभयो ।आज बिहान बूढानीलकण्ठस्थित उक्त टहरोभित्रको कोठामा उहाँ उभिएर लुगलुग काम्दै गरेको अवस्थामा हुनुहुन्थ्यो । उहाँका अनुसार जेठो छोरो बालकोटमा बस्छन् । कान्छो छोरा सन्तोषले पाल्दै आएको थियो ।

“कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु”, अनायासै उहाँले कुराहरू सुनाउँदै जानुभयो । “ल जाम आमा अब हाम्रो घर”, मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भन्नुभयो । “जान त जानी, मेरो सामान चाहिँ लानुपर्छ है”, उहाँले भन्नुभयो । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा हुनुहुन्थ्यो । वर्षांैसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो ।“सामान पछि ल्याउँला है, अहिले हजुर चाँहि हिँड्नू, जाम”, अभियन्ता मगरको भनाइ टुङ्गिन नपाउँदै उहाँले जिद्दी गर्दै भन्नभयो, “दुःख सास्ती गरी जोडेको सामान छोड्दा पछि हामीलाई आँशु लाग्छ, श्राप लाग्छ, कहिल्यै केहीको मुख देख्न पाइँदैन, लिएरै जानुपर्छ ।” सामान ल्याउने शर्तमा उहाँ मानवसेवा आश्रममा जान तयार हुनुभयो । “मेरो मनै बिगार्देको छ, नदेखेको शत्रु बाबु बराबर भन्छन्, कुनै कुरा मनमै नरहनी, मन थिरै नहुने हुन्छ के”, उहाँले गुनगुनाउनुभयो ।

स्थानीयका अनुसार चण्डिकालाई मनोरोग लागेको १४ वर्ष भयो । रोग लागेकै कारण परिवारले उहाँलाई छाडे । श्रीमान्ले अर्काे बिहे गरे । एकजना ठेकेदारकहाँ काम गर्थे छोरा सन्तोष । एकदिन उनकी आमा फेला पारेपछि ठेकेदारले नै सन्तोषलाई भनेर आमा छोरासँगै राखिदिएका थिए । सात महीनाअघि छोराले छाडेपछि उहाँ एक्लै हुनुभएको थियो ।उहाँको भाडा र खानेकुरा सहयोग गर्दै आउनुभएका स्थानीय बुढाथोकीलाई कति दिन यसरी राख्ने भनेर चिन्ता लाग्यो । छिमेकी गङ्गादेवी श्रेष्ठलाई सबै कुरा बताएपछि मानवसेवा आश्रमको बारेमा थाहा पाएर उद्धारको प्रयास थालिएको थियो ।“यही माघ ११ गते मैले आश्रममा गएर घटनाबारे जानकारी गराएँ, आश्रम उद्धारमा इच्छुक भयो”, गङ्गादेवीले भन्नुभयो, “यो विजोग देख्नुभन्दा उद्धार हुन पाए राम्रो हुन्थ्यो भन्ने लागेको थियो, आज उद्धार भएकोमा धेरै खुशी छु ।” कतिबेला नाङ्गै देखेपछि आफूले नै कपडा फेरिदिने गरेको उहाँले बताउनुभयो ।

आज मानवसेवा आश्रम काठमाडौँका संयोजक सुमन बर्तौला, अभियानकर्मी जमिर श्रेष्ठ र सन्तोषी मगर, समाजसेवी एवं पशु अधिकारकर्मी बीना पन्तको सहभागितामा उहाँलाई उद्धार गरेर बूढानीलकण्ठस्थित आश्रममा लगेर राखिएको छ ।आश्रमले यस्ता मनोरोगी तथा घरैमा साङ्लाले बाँधिएर बस्न बध्य भएका, सडकमा बेवारिसे अवस्थामा रहेकालाई उद्धार गरेर संरक्षण गर्दै आएको छ । धेरैलाई उद्धार गरेर उपचारपश्चात् निको पारी परिवारमा पुनःस्थापित गरिएकाले उहाँलाई पनि पुनःस्थापितको प्रयास गरिने बर्तौलाले बताउनुभयो । यसरी उद्धारमा सुरक्षाकर्मी तथा स्थानीय तहको महत्वपूर्ण सहयोग रहने गरेको उहाँको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।