हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

डोल्पा, २४ माघ । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

“यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भन्नुभयो । “बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षासमेत प्रभावित हुने पक्का भएको छ ।”

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटाले बताउनुभयो । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जानसमेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जानसमेत गाह्रो भएको उहाँको भनाइ छ ।

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ ।

विमानस्थल बन्द

बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको हो ।

हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताउनुभयो ।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ ।

यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात शुरु भएपछि त्यहाँका विमानस्थलहरुसमेत अवरुद्ध भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।