अब त्रिवेणीमा पनि होमस्टे !
धनकुटा खबर । आगन्तुक पर्यटकहरुलाई सेवा दिन धनकुटा, सुनसरी र उदयपुरको संगम स्थल रहेको धनकुटाको त्रिवेणी गाउँमा होम स्टे सन्चालनमा आउने भएको छ ।
तमोर, अरुण र बिभिन्न ५ नदी मिसिएको सुनकोशी नदी मिसिएर सप्तकोशी नदी किनारको त्रिवेणीमा आउने बैसाखबाट होमस्टे सन्चालनमा आउन लागेको हो ।
सुनसरीको चतराबाट धनकुटा, भोजपुर र उदयपुर जिल्लालाई लक्षित गरेर स्टिमर सन्चालनमा आएसंगै पर्यटकहरुको आवागमन बढेपछि होम स्टे सन्चालनमा आउन लागेको हो ।

पाहुनाहरुलाई गाँसबासमा समस्या देखिएकाले होमस्टे सन्चालनमा ल्याउन लागिएको शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । सेवा शुरु गर्न गाउँपालिकाको ३ लाख लागतमा ५ घरबाट राई जातिमा आधारित होमस्टे सेवा शुरु गर्ने निर्णय गरेको छ ।
उक्त स्थानमा आउने पाहुनाहरुले अरुण र तमोर नदीको स्वादिलो माछा र स्थानिय स्तरमा उत्पादित खानपानको आनन्द लिन सक्नेछन् । होमस्टे सन्चालनपूर्व उक्त स्थानका होमस्टे सन्चालकहरुलाई बिभिन्न जिल्लाका होमस्टेहरुको अवलोकन गराईने गाउँपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयो ।



