छिट्टै सकिने भो रानीपोखरी पुनःनिर्माण

शर्मिला पाठक/काठमाडौँ, असार ५ गते । आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।

लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम केही शुरु गरिए पनि कामदारको अभावका कारण काम हुन सकेको थिएन । सरकारले केही दिनअघिदेखि बन्दाबन्दीलाई केही खुकुलो बनाएपछि अहिले निर्माणको काम आशानुरुप भइरहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।

अहिले रानीपोखरीको पुनः निर्माणको कामअन्तर्गत पोखरीमा माटो लगाउने काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम भइरहेको छ । हालसम्म पोखरीको ७५ प्रतिशत काम सकिएको प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार हाल ३२ कामदारले दैनिक काम गरिरहेका छन् । सहज भएसँगै थप कामदार ल्याउने तयारी भएको छ । पोखरीमा कस्तो र कहाँबाट पानी राख्ने विषयमा भने छलफल भइरहेको मानन्धरले जानकारी दिनुभयो ।

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

कोरोना भाइरसका कारण केही समय ढिला भए पनि अबको केही महिनाभित्र पोखरीको पुनःनिर्माणको कामले पूर्णता पाउने प्राधिकरणको जिकिर छ ।

शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो । मन्त्रिपरिषद्को विसं २०७५ माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।

मन्दिर पुरानै शैली (ग्रन्थकूट÷शिखर) शैलीमा पुनःनिर्माण गर्न गत वर्ष असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी शेयर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

गोरखा भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि रु २५ करोड बजेट विनियोजन भएको छ ।

चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पाँच वर्ष लगाएर विसं १७२५ मा ‘न्हु पुखु’को निर्माण गराई विसं १७२७ मा शिलापत्र राखेका थिए । पोखरीमा गोसाइँकुण्डलगायत नेपाल र भारतका १०८ विभिन्न तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।

प्रताप मल्लले पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोअनुसार उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना भएको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖