बाढीको उधुम, जताततै जलमग्न

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ ।

पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो । पानी नरोकिए बाढी बढ्दै जाँदा जिल्लाका मुख्य सडकहरु जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिवास, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवासमा यातायात चल्ने अवस्था छैन । लकडाउनमा यात्रुवाहक सवारी साधन ठप्प भए पनि साना सवारी साधन (जिप, मोटरसाइकल र साइकलसहित) चल्दै आएका यी सडकमा अब पैदल हिँड्न पनि नसकिने अवस्था छ । जिल्लाका नदीहरूमा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान शुरु भएको छ ।

जिल्लाका उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा डुबानले प्रभावित बनाएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताउनुभयो । जिल्लाका ४० भन्दा बढी बस्ती बाढीको उच्च जोखिममा रहेका सिंहको भनाइ छ । पछिल्लोपटक यसपालि मध्यअसारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन । खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला (तीव्रगतिको बगाइ) चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो ।

भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्बारे सचेत बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

लोहारपट्टी, बलवा र जलेश्वर नगरपालिका क्षेत्रका केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको कटुवालको भनाइ छ । गत वर्षको बाढीले पनि यी तीन नगरपालिका क्षेत्रमा निकै क्षति गरेको थियो । गत वर्ष बाढीको चपेटामा परी आठ जनाको ज्यान गएको थियो भने २० हजारभन्दा बढी विस्थापित भएका थिए । नदी नियन्त्रण र वैज्ञानिक व्यवस्थापनको काम प्रभावकारी नहुँदा बर्सेनि तटबन्धका नाममा करोडौँ रकम स्वाहा हुने गरेको र जनता भने सधैँ त्राहिमामकै अवस्थामा रहेको बलवा नगरपालिकाको भगवतीपुर बस्तीका उत्तिम माझीले गुनासो गर्नुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।