सञ्चालनमा आए सौराहाका होटल, व्यवसायीद्वारा विभिन्न छुटको घोषणा

काठमाडौं, साउन १५ । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ बिहीबारदेखि सञ्चालनमा आएका छन्। स्वास्थ्य सावधानी र छुट प्याकेजसहित चितवनको सौरहाका होटल सञ्चालनमा आएका हुन्।

आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणासहित करिव चारमहिनापछि होटल सञ्चालनमा ल्याएका हुन्।

क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो।

व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन्। होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड-१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए। सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। ‘सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन्। आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरेका छौँ।’

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए। व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएका छन्। प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रासमेत गरिएको थियो।

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन्। संघले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन्।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन्। यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए।

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको उनले बताए। ‘पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।’ सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन्।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन्। विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ।

यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।