डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

झापा, चैत ११ गते । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहनुभएको छ ।

उहाँको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उहाँले रु एक करोड लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उहाँको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ ।

अष्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम रु पाँच लाख परेको छ । आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उहाँले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरुमा बङ्गुर र ब्रोइलर कुखुरा पाल्नुभएको थियो । मेचीनगर–१० स्थित आफ्नै जग्गामा उहाँको बङ्गुर फार्म थियो ।

आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बङ्गुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बङ्गुर र कुखुरा फार्म बेचेको पूँजीसहित उहाँले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाल्नुभयो । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।

यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी रु दुई हजार ५०० दरले जिउँदै बिक्री हुने गरेको छ । उहाँका अनुसार बोयर जातका बाख्रा अष्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ । बोयर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उहाँले जानकारी दिनुभयो । तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उहाँको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ ।

पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन । पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ । उहाँले बोका भए तीन महिनामा प्रतिगोटा रु एक लाख २० हजारदेखि रु एक लाख ५० हजारसम्म र पाठी भए रु एक लाखसम्ममा बिक्री हुने बताउनुभयो ।

यस व्यवसायबाट सन्तुष्ट उहाँले पाँच वर्षभित्रमा २०० बोयर बाख्राको माउ पालेर बीउ उत्पादन केन्द्रका रूपमा फार्मलाई विकसित गर्ने बताउनुभयो । “हालसम्म कसैसँग एक पैसा पनि सहयोग र अनुदान लिएको छैन”, उहाँले भन्नुभयो, “आफ्नै पौरख र बैंकबाट ऋण लिएर झण्डै रु एक करोड खर्च गरेर फार्म सञ्चालन गरेको छु ।”रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖