साधनास्थलको रुपमा विकास हुँदै हरिहर गुफा सन्यास आश्रम

वासुदेव पौडेल/गण्डकी, १ वैशाख । विश्वमा नै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखराको पूर्वोत्तरस्थित हरिहर गुफा सन्यास आश्रम योग तथा साधनाको गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइमा रहेको आश्रमको ऐतिहासिक गरिमा र महत्वका साथै रमणीयस्थान रहेका कारण साधना गर्न चाहनेका लागि आकर्षक गन्तव्य बनेको हो । धार्मिक वनका रुपमा रहेको करीब ७४ रोपनी वनसहित उच्च भागमा अवस्थित यो स्थल पर्यटकीय नगरी पोखराको दृश्यवलोकनका साथै माछापुच्छ«े, अन्नपूर्णलगायतका रमणीय हिमाली दृश्यको अवलोकनका लागि पनि उत्तीकै महत्वपूर्ण रहेको आश्रमका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिनुभयो ।

यहाँको धार्मिक एवं ऐतिहासिक महत्वसमेतका आधारमा दृश्यावलोकनका साथै योग तथा साधना गर्न चाहने जो कोहीका लागि आश्रमस्थल पुग्नैपर्नेस्थलका रुपमा बढिरहेको उहाँले बताउनुभयो । आश्रमस्थित हरिहर भगवानको मन्दिर शैव र वैष्णवहरुको साझा तीर्थस्थल मानिन्छ । मन्दिरमा रहेको मूर्तिमा आधा भाग भगवान विष्णु(हरि)को र आधा भाग भगवान शिव(हर) को रहेका कारण हरिहर भनिएको हुनसक्ने आश्रम व्यवस्थापन समितिका सदस्य एवं स्थानीय शृङ्खला क्लबका सचिव रेशम खत्रीले जानकारी दिनुभयो । मन्दिर परिसरमा ध्यान गुफा समेत छ ।

उपलब्ध सनद अनुसार १८आँै शताब्दीमा पञ्च जुना अखडा(भारत) का विख्यात स्वामी दिगम्बर बाबाका वरद शिष्य १०८ स्वामी अम्बर गिरीजी महाराजले आश्रम स्थापना गर्नुभएको हो । यस मन्दिरमा पञ्चमुखी हनुमान, श्री गणेश आदिका मूर्ति छन् । आश्रमको वैधानिकताका लागि विसं १९०६ वैशाख शुक्ल(गङ्गा) सप्तमीमा श्री ३ जङ्गबहादुर राणाबाट स्थापित इष्टदेव श्री हरिहर भगवानको पूजा आराधाना गर्नु, सरकारको जय मनाउनु, मन्दिर वरिपरीको वन गुल्जार गर्नु आदि कुरा उल्लेखित सनद अहिले पनि उपलब्ध छ ।

अम्बर गिरीजी महाराजपछि उत्तराधिकारी शिष्य परम्पराको निरन्तरता क्रममा सहदेव, केशव र देव गिरीले वैदिकविधि अनुसार आश्रम सञ्चालन गर्नुभयो । विसं २०२९ मा देव गिरीको समाधि पश्चात करीब आठ वर्ष उत्तराधिकारीको रिक्ततापछि स्थानीयवासीको विशेष सक्रियतामा २०३७ सालको महाशिबरात्रिबाट आश्रम पुनःसञ्चालनमा आई वैदिकविधि अनुसार नित्य पूजापाठ हुँदैगएको स्थानीयवासी बताउछन् ।

पोखराबाट नजिकै रहेर पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेको यस धार्मिक पर्यटकीयस्थलको विकासका लागि आफूहरू सक्रियताका साथ लागेको पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सीमबहादुर गुरुङले बताउनुभयो । आवश्यक पूर्वाधार विकासका साथ यसलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउँदै योगाभ्यास तथा साधनास्थलका रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो ।

आश्रमका स्वामी प्रियानन्द गिरीका अनुसार हाल आश्रममा आठ ज्येष्ठ नागरिक र चार जना बटुक रहेका छन् । आश्रममा गाईपालन गरिएको छ । नियमित आम्दानीको कुनै स्रोत नभए पनि समयसमयमा आउने भक्तजन तथा विभिन्न सेवा पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं संस्थाको सहयोगमा दैनिकी सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

आश्रमस्थलाई योग तथा साधनास्थलका रुपमा विकास गर्ने सोचका साथ यहाँ आएर योग तथा साधना गर्न चाहनेका लागि आठ वटा साधक निवास तयार गरिएको छ । आश्रममा पूर्वाधार विकासको क्रमले पनि गति लिएको पूर्व उपाध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन विभागको सहयोगमा कूल रु ५९ लाखमा भान्छा घर तथा महिला धर्मशाला निर्माण गर्न लागिएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा एक करोड १६ लाखको लागतमा खानेपानीको व्यवस्थापन गरिएको छ । प्रदेश सरकारकै सहयोगमा मन्दिर परिसरस्थित तारबारसहितको आश्रमभित्रको ५५० मिटरको पदमार्गमा सात लाख १७ हजारको लागतमा बत्ती जडान गरिएको छ ।

साउने सोमबार, महाशिवरात्रि, बालाचतुर्दशी, हनुमान जयन्ती, कृष्ण जन्माष्टमी, रामनवमीलगायतका पर्वमा विशेष पूजाआजा हँुदै आएको आश्रमस्थलमा आवश्यक पूर्वाधार विकास गर्दै योग तथा साधनाको केन्द्रका रुपमा विकास गर्न सकिने केसीको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।