वडाका सबै कर्मचारीमा सङ्क्रमण,एक हप्ता लकडाउन गर्न सिफारिश

राँझा, ८ वैशाख । बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो । भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनसार १५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेशन वार्डसमेत करीबकरीब भरिइसकेको छ । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ ।

भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताउनुभयो । सामान्यावस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा एकान्तबास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

एक हप्ता लकडाउन गर्न सिफारिश

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेको कोरोना सङ्क्रमण दर अत्यन्तै तीव्ररूपले वृद्धि भएकाले स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा सङ्घीय सरकारबाट प्राप्त मार्गनिर्देशनानुसार विद्यालय, हेल्थ क्लब, पौडी पोखरी, मनोरञ्जनस्थललगायत स्थान बन्द गर्नाका साथै जिल्लालाई लकडाउन गर्न सकिने छ । उहाँले बाँकेवासीलाई कोरोना महामारीको सङ्क्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै आवश्यक पर्ने खाद्यान्नलगायत जोहो गर्न आग्रहसमेत गर्नुभयो । पछिल्लो समयमा केही दिनयता बाँके कोरोनाको केन्द्रविन्दु बनेको छ । सोमबार मात्रै एकैदिन ३२२ कोरोना सङ्क्रमित भेटिएका छन् ।

वडाका सबै कर्मचारीमा सङ्क्रमण

सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।

वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । सङ्क्रमित हुने सबैको स्वास्थ्यवस्था सामान्य रहेकोे वडाध्यक्ष रिजालले बताउनुभयो । होम आइसोलेशनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।